Nigrani Today

हजरियामा माघे संक्रान्ति तथा तोल ल्होसार मनाइयो

0 249

बालकृष्ण अधिकारी
सर्लाही,१ माघ । सर्लाहीको बरहथवा नगरपालिकामा माघे संक्रान्ति तथा तोल ल्होसार विभिन्न कार्यक्रम गरी भव्यताको साथ मनाइएको छ । बिहिवार हजरियाको फुटबल मैदानमा नेपाल मगर संघ बरहथवा न.पा–२ नगर कमिटी सर्लाहीको आयोजना र शिक्षासेवी तथा समाजसेवी दिल बहादुर घना मगरको अध्यक्षतामा विभिन्न कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य वेची लुङ्गेलीले माघे संक्रान्ति मगर लगायत थारु र अन्य समुदायहरुले पनि राष्ट्रिय पर्वको रुपमा मनाउँदै आएको र यस पर्वको विषेश महत्व रहेको बताउनुभयो । मगरहरु सुरुवाति चरणदेखिनै कन्तमुलमा रमाउने गरेको भन्दै नेपाल मगर संघले वि. सं. २०७२ सालदेखि माघे संक्रान्ति तथा तोल ल्होसारलाई राष्ट्रव्यापी रुपमा मनाउने निर्णय गरेको समेत सांसद लुङ्गेलीले जानकारी गराउनुभयो।

वहाँले यस कार्यका पुर्व अध्यक्ष तिलक बहादुर मगरको संझना र श्रद्धञ्जली अर्पण गर्नुभयो। मगरहरुको आफ्नै भाषा, संस्कृति र वेशभूषा रहेको र यसको संरक्षण र सम्बर्धन गर्ने जिम्मेवाही हाम्रै रहेको प्रदेश सांसद लुङ्गेलीले भन्नुभयो। कार्यक्रममा मगर महिला तथा पुरुषहरु आफ्नो सांस्कृतिक पहिरनमा उपस्थित हुँदा यो कार्यक्रम मगरहरुको मात्र भन्ने ठान्न नहुने र यो नेपालीहरुको पर्व र संस्कृति रहेको ठान्न उहाले सहभागी सबै सँग आग्रह समेत गर्नुभयो।

New manakamana

आफू मगर भएर पनि मगर भाषामा वार्तालाप गर्न नसकेको विडम्बना सुनाउँदै वहाँले मगर भाषा र संस्कृतिको खोजी, उत्थान र फैलावटमा लाग्नुपर्ने र सन्देश प्रवाह गर्नुपर्नेमा समेत उहाले जोड दिनुभयो । मुलुकमा गणतन्त्र ल्याउनमा मगरहरुको पनि योगदान रहेको स्मरण गर्ने क्रममा वहाँले सहिद लखन थापाको पनि स्मरण गर्नुभयो। मगरहरुले फाल्गुन १५ गतेलाई मगर दिवसको रुपमा मगर संघको स्थापना भएको दिनलाई सम्झेर भव्य रुपमा मनाउने गरेको छ ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि बरहथवा नगरपालिकाका नगरप्रमुख देवानन्द महतोले देशको शासनप्रणालीमा जसले देशको लागि पसिना र रगत बगाएको छ उसको पहुँच भएन भने देशको विकास सम्भव नभएको बताउनुभयो। गणतन्त्र प्राप्तिको आन्दोलनमा मगरहरुको पनि रगत र पसिना वगेको तर संविधानमा मगरहरुको स्थान कहाँ छ भनेर छलफल र खोज गर्नुपर्ने विषय रहेको बताउनुभयो।

यस पर्वको अवसरमा हामीले जानी नजानी गरेका मकिकमजोरी र विकृति विसंगतिको व्यापक छलफल हुनुपर्ने र त्यसलाई सुधार्दै देश विकासमा सबै अघि बढ्नुपर्ने बताउनुभयो। हामी जुनसुकै राजनैतिक सिद्धान्तमा विस्वास गर्ने भएतापनि पिछडिएका वर्गको उत्थानका निम्ति एकजुट भएर नेपालको संविधानले दिएको अधिकार प्राप्त गरी आगामी पिँढिको सुन्दर भविष्यको निम्ति लाग्न आग्रह गर्नुभयो।

यति लामो संघर्षपछि प्राप्त संविधान धर्मराएको बेला राजनैतिक नेतालाई आरोप प्रत्यारोप मात्र नगरी सम्पूर्ण नेपाली संविधान रक्षाका लागि सजग हुनुपर्ने सुझाव नगर प्रमुख महतोले दिनुभयो। नेपालको गौरव, लोकतन्त्र र उन्नति देख्न नचाहानेहरुदेखि सावधान हुनुपर्ने र त्यसको लागि हिजोको दिनमा मगरहरुले गरेको योगदान जस्तै अब पनि एकजुट भएर देशको रक्षामा जुट्न आग्रह गर्दै यसको लागि मगर समुदाय पछाडि नहट्ने विस्वास समेत व्यक्त गर्नुभयो। वहाँले भोलिको दिनमा राष्ट्रको महत्वपूर्ण पदमा मगर समुदायको उपस्थिति र सहभागिता रहोस् भनी शुभकामना समेत दिनुभयो ।


कार्यक्रममा स्थानीय कलाकारहरुले विभिन्न सांस्कृति नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रमकै अवसरमा माधव मगरद्वारा लिखित पुस्तक ’व्यथीत पुकार’ को विमोचन समेत गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य लुङ्गेली , विशिष्ट अतिथि बरहथवा नगरपालिकाका मेयर महतो, मगर संघ प्रदेश २ का इन्चार्ज लेखराम जर्घा मगर लगायतका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

gift corner
टिप्पणीहरु
Loading...