सर्लाही,५ फागुन । वडाध्यक्ष सनाखतमा बसिदिएपछि सर्लाहीको हरिवनमा आफन्तविहीन एक अशक्त व्यक्तिले नागरिकता पाएको छ। हरिवन नगरपालिका–५, घुर्कौलीका शक्ते बाइबालाई वडाध्यक्ष नागेन्द्रकुमार साह सनाखत बसेर ५६ वर्षको उमेरमा नागरिकता दिलाएको हो।
बोल्न नसक्ने वाइबको तीनपुस्ता भित्रको कोही पनि आफन्त नभेटिएपछि आफू नै सनाखत बसेर नागरिकता दिलाएको वडाध्यक्ष साहले बताए। ’सुरुमा गाउँ सर्जमिन गरेर जन्मदर्ता दिलायौँ, त्यसपछि प्रहरी सर्जमिन, इलाका प्रशासन कार्यालयबाट राय टिप्पणी उठाउने, प्रमुख जिल्ला अधिकारीबाट सदर गर्ने र अन्तिममा हकदाबी सूचना निकालेर वाइबालाई नागरिकता दिलाएका हौँ’, वडाध्यक्ष साहले भने, ’यी सबै प्रक्रिया पूरा गरेर नागरिकता दिलाउन दुई महिना लाग्यो।

’धेरै झन्झट बेहोर्नु परे पनि आफन्तविहीन अशक्त व्यक्तिलाई नागरिकता दिलाउन सफल हुँदा अत्यन्त खुसी लागेको वडाध्यक्ष साहले खुसी हुँदै भने। अपांग परिचय पत्र भएपछि राज्यले मासिक भत्तासमेत उपलब्ध गराउने भएकाले अब वाइबालाई त्यो परिचय पत्र दिलाउन पनि आफूले पहल गर्ने वडाध्यक्ष साहको भनाइ छ।
उनका अनुसार वाइबाले गाउँ घरमा मजदुरी गरेर पेट पाल्दै आएका छन्। इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख मनोजकुमार मिश्रले आफन्तविहीन कोही व्यक्तिलाई समाजका प्रतिष्ठित व्यक्ति सनाखत बस्दा विश्वासको आधारमा कागजात जुटाएर नागरिकता दिलाउन सकिने बताए।
वडाध्यक्ष सनाखत बसेर वडावासीलाई नागरिकता दिलाएको यस्तो घटना अत्यन्त दुर्लभ रहेको मिश्रले जानकारी दिए। स्रोतः थाहाखबर अनलाइन ।स्रोत ः थाहाखबर अनलाइन ।
