
महोत्तरी, १७ फागुन ।महोत्तरीको एकडारा गाउँपालिकामा अती विपन्न ४१ जना परिवारलाई ब्यवसाय शुरुवातको लागि सामाग्री वितरण गरिएको छ।
बुधबार एकिकृत ग्रामिण विकास समाज, महोत्तरीद्वारा वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा महोत्तरी जिल्लामा सञ्चालन भइरहेको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत विपन्न घरधुरीलाई ब्यवसाय शुरुवातका लागि विभिन्न प्रकारको सामाग्रीहरु वितरण गरिएको छ ।
उक्त सामाग्री वितरण गर्नु हुँदै एकडारा गाउँपालिकाका अध्यक्ष दिपनारायण मण्डलले विपन्न घरधुरीले ब्यवसाय शुरु गर्नका लागि पाएको सामाग्रीले आफू ब्यवसायी बनेर उदाहरणीय बन्नु पर्ने कुरा बताउनुभयो ।
“विपन्न परिवारलाई माथि उकास्ने एक मात्र साझा उद्देश्य गाउँपालिका र सबै सहयोगी संघ संस्थाको रहेको छ ।” अध्यक्ष मण्डलले भन्नुभयो “ब्यवसाय संचालन गरेर नाफा आर्जन गर्ने, बचत गर्ने र आफ्नो परिवारको घर खर्चमा समेत योगदान गर्ने राम्रो अवसर रहेको छ ।”
परियोजनाद्वारा वितरण गरिएका मध्ये २७ जनालाई किराना पसलका लागि र १४ जनालाई कस्मेटिक्स पसलका लागि सामाग्री वितरण गरिएको कुरा संस्थाका कार्यक्रम ब्यवस्थापक कुमार भण्डारीले जानकारी दिनुभयो ।
संस्थाले अति विपन्न घरधुरी स्नातक परियोजना मोडल अन्तर्गत यस आर्थिक वर्षमा २ सय जना विपन्न घरधुरीलाई विभिन्न व्यवसायका लागि सहयोग गर्ने योजना रहेको संस्थाका कार्यक्रम अधिकृत आरती चौधरीले जानकारी दिनुभयो