११ चैत्र २०८०, आईतवार | Email:- [email protected] | [email protected]
हरिवन नगरस्तरीय हाजिरी जवाफ प्रतियोगतिा सम्पन्न, महादेव जनता मावि पहिलो – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

हरिवन नगरस्तरीय हाजिरी जवाफ प्रतियोगतिा सम्पन्न, महादेव जनता मावि पहिलो

फागुन १८,हरिवन । हरिवनस्थित महादेव जनता नमून माध्यमिक विद्यालय नगरस्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा पहिलो भएको छ ।

सोही विद्यालयमा भएको अन्तर माध्यमिक विद्यालय नगरस्तरीय हाजिरी जवाफ प्रतियोगितामा अन्य ९ओटा विद्यालयलाई उछिन्दै हरिवन ८ पुरानो बजारमा रहेको महादेव जनता नमुना मावि प्रथम भएको हो ।

प्रतियोगितामा हरिवनकै सनराइज माध्यमिक विद्यालय दोस्रो, शिशु प्रज्ञा सदन माध्यमिक विद्यालय तेस्रो र चतुर्भुजेश्वर जनता माध्यमिक विद्यालय चौथो भएको शिक्षा शाखा हरिवनले जनाएको छ ।

विजेता विद्यालयहरुले शिल्ड र सहभागी विद्यार्थीहरुले विभिन्न पुरस्कारसहित मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तै प्रतियोगितामा सहभागी हुने विद्यालय र विद्यार्थीलाई पनि प्रमाण पत्र वितरण गरिएको आयोजकले जानकारी दिएको छ ।


हाजिरी जवाफ प्रतियोगितामा कक्षा १० सम्मका सबै विषयहरुबाट र समसायिक विषयहरु समेत समेटेर प्रश्न तयार गरिएको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख रुस स्टालिन चौलागाईंले बताए ।

प्रतियोगिता ९ ओटा राउण्डमा सम्पन्न गरिएको थियो । प्रतियोगितामा ९० ओटा प्रश्न सोधिएको शिक्षा शाखा प्रमुख चौलागाईंले बताए । जसको अंक भार १÷१ कायम गरिएको थियो ।

हाजिरी जवाफ प्रतियोगिताको हरिवन नगरपालिकाका नगर उप–प्रमुख हरिमाया घलानले उद्घाटन गरेकी थिईन् । उद्घाटनका क्रममा मन्तव्य राख्दै नगर उप–प्रमुख घलानले हरिवनमा रहेका सामुदायिक विद्यालयहरुको पछिल्लो समय भौतिक अवस्था र शिक्षाको गुणस्तरमा बृद्धि हुँदै गएको बताईन् ।

उनले शिक्षालाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको जानकारी दिईन् । नगर शिक्षा शाखाले अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता गराएर विद्यार्थीहरुको अन्तरनिहित क्षमताको विकासका लागि काम गरेको नगर उप–प्रमुख घलानको भनाई थियो ।

कार्यक्रमका विशिष्ट अतिथि तथा वडा नम्बर ८ का वडाध्यक्ष प्रज्वल ढुंगानाले विद्यालयहरुमा गरिने हाजिरी जवाफ लगायतका कार्यक्रमहरूबाट विद्यार्थीहरूले आफू भित्र रहेको प्रतिभालाई पहिचान गर्न सक्ने बताए ।

उनले प्रतियोगिताले विद्यार्थीलाई निजामती क्षेत्रमा प्रवेश गर्न सहज बनाउने बताए । उनले हाजिरी जवाफ प्रतियोगिताले विद्यार्थीहरुको प्रतिभाको पहिचान गर्ने र उनीहरुको प्रतिभालाई उजागर गर्ने समेत बताए ।

त्यस्तै कार्यक्रमका अतिथि मनोज थापाले किताबी ज्ञानले मात्र विद्यार्थीहरूमा परिपक्वता नआउने भन्दै उनीहरुलाई बाहिरी ज्ञानको पनि खाँचो रहेको बताए ।
हाजिरी जवाफ प्रतियोगितामा हरिवन नगरभित्रका सामुदायिक तथा नीजि गरी १० ओटा माध्यमिक विद्यालयहरुले सहभागीता रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक जयशंकर सिंहको अध्यक्षतामा तथा नगर उपप्रमुख हरिमाया घलानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सहायक प्रधानाध्यापक गिरिराज रानाले सञ्चालन गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.