
- फागुन २२ गते ।। समावेशी शिक्षा सुदृढीकरण(सिकाई) परियोजना अन्तर्गत जिल्लाको हरिपुर्वामा बालविवाह र बालश्रम सम्बन्धी समदाय परिवर्तन समूहका सदस्य, धार्मिक गुरु तथा सरोकारवालाबीच सम्वाद कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
अष्ट्रेलियन एडको आर्थिक सहयोग र वल्र्ड भिजन, ह्याण्डीक्याप ईन्टरनेशनल, वल्र्ड एजुकेशन, राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र(आरआरपिके)सर्लाही र हरिपूर्वा नगरपालिकाको आयोजनामा नगरपालिकाको वडा नम्बर ६ स्थित रामजानकी आधारभूत विद्यालयको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो ।
वडा नम्बर ६ का वडाअध्यक्ष रामसोगारथ रायको अध्यक्षतामा भएको सम्वाद कार्यक्रममा वडा नम्बर २ का वाड अध्यक्ष दिनेश राय, ४ का वडाअध्यक्ष नोखेलाल राय, ८ का वडाअध्यक्ष रमेश कुमार राय, ६ का वाड सदस्य नरेश राय, पत्रकार एवम् पण्डित मुकेश झा, हिन्दुधर्मगुरु जयनारायण राय, मुस्लिम धर्मगुरु मौलाना मक्सुद आलम, मौलाना रहमत लतिफी, रामजानकी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुकदेव साह, प्रधानाध्यापक चनदेव राय, शिक्षक गगनदेव यादव, समाजसेवी दिपनारायण चौधरी लगायतको आतिथ्यता रहेको थियो ।
त्यस्तै राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका संरक्षण संयोजक नागेन्द्र कुमार साह, सिकाई परियोजनाका वरिष्ठ कार्यक्रम संयोजक आदित्य पटेल, परियोजनाकै बरिष्ठ लेखा संयोजक लालबाबु साह, समुदाय परिवर्तन समुहका सदस्यहरु, विभिन्न बालक्लवका सदस्यहरु, रुपान्तरण कक्षाका विद्यार्थीहरु, विभिन्न विद्यालयका विद्यार्थीहरु र बालबालिकाका अभिभावकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा चाँदनी कुमारी यादव, अमृता कुमारी राय, निर्मूल कुमारी साह, करिना साह, रौशन यादव, रुपान्तरण कक्षाका विद्यार्थी मुस्कान कुमारी यादवलगायतका बालबालिकाले बालविवाह, बालअधिकार, महिला हिंसा जस्ता विकृतिको बारेमा बोलेका थिए ।
सम्वाद कार्यक्रमको उद्घाटन सत्र आरआरपिकेका संरक्षण संयोजक नागेन्द्र कुमार साहले सञ्चालन गरेका थिए भने त्यसपछि सुरु भएको सम्वाद कार्यक्रमलाई पत्रकार सोम दियालीले सञ्चालन गरेका थिए । सो क्रममा बालबालिकाहरुले बालविवाह, बालश्रम तथा दाइजो प्रथा न्यूनिकरणका लागि जनप्रतिनिधिहरुलाई तपाईहरुको योजना के छ भनेर प्रश्न गरेका थिए । त्यस्तै धर्मगुरुहरुलाई बालविवाह तपाईहरुले किन बहिस्कार गर्न नसक्नुभएको हो ? जस्ता प्रश्न राखेका थिए ।
जवाफमा वडाअध्यक्ष, धर्मगुरु र अन्यसरोकारवालाहरुले सदियौंदेखि समाजमा जरा गाडेर बसेको यस्ता कुरीती वडाअध्यक्ष एक्लैले, धर्मगुरुहरुले मात्रै नभई स्वयम आफैले सुरु नगर्दा सम्म अन्त्य हुन नसक्ने बताएका थिए । सम्वाद कार्यक्रममा सोधिएको प्रश्नको जवाफ दिँदै हरिपुर्वा नगरपालिका ८ का वडाअध्यक्ष रमेश कुमार रायले नगरपालिकाले बालविवाह, बालश्रम, दाईजो प्रथा जस्ता सामाजिक कुरीती न्यूनिकरणका लागि बजेट विनियोजन गरेरै काम गरिरहेको बताए ।
त्यस्तै आरआरपिकेका संरक्षण संयोजक नागेन्द्र कुमार साहले आरआरपिके कै प्राविधिक सहयोगमा हरिपुर्वा नगरपालिकामा बालबालिका सम्बन्धी नीति बनेको बताए । उनले हरिपुर्वामा बालबालिकाको पक्षमा थुप्रै सुधारहरु भएको आफूहरुको अध्ययनले पुष्टी गरेको उनको दाबी छ । ‘बालबालिकासम्बन्धी कानून बनाउने जिल्लाका २० पालिकामध्ये हरिपूर्वा नगरपालिका पहिलो नगरपालिका हो ।’, संरक्षण संयोजक साहले भने,–‘बनेका नीति नियम कार्यान्वयन हुन सके यहाँ बालविवाह, बालश्रम तथा दाइजो जस्ता प्रथा न्यून हनेछ ।’त्यस्तै पत्रकार एवम पण्डितजी मुकेश झाले बालविवाह, बालश्रम तथा दाइजोप्रथा अन्त्यका लागि सबैजना लाग्नुपर्ने बताए । उनले भने,–‘खाली पण्डितजीले गरेन, वडाअध्यक्षले गरेन, मेयरले गरेन भन्ने होईन । यस्ता सामाजिक विकृति हटाउन हामी आफैले सुरु गर्नुपर्दछ ।’
बालबालिकाको शिक्षामा पहुँच वृद्धि गर्ने उदेश्यका साथ विगत साँढे तीनवर्षदेखि हरिपुर्वासहित जिल्लाका ४ ओटा पालिकामा सिकाई परियोजना सञ्चालन भइरहेको छ । परियोजना अन्तर्गत परियोजना क्षेत्रका विद्यालय, मदरसाहरुमा शैक्षिक समाग्री, शिक्षण सिकाई सम्बन्धी तालिम, बालबालिकाका अभिभावकलाई सचेतना तालिम, विद्यालयहरुको भौतिक सुधारका कार्यक्रमहरुसहित समुदाय परिवर्तनका सदस्य तथा धार्मिक गुरुहरुलाई समेत विभिन्न तालिम, गोष्टी तथा सचेतना कक्षाहरु सञ्चालन भइरहेका छन् ।