
लालबन्दी,१४ चैत्र । सर्लाहीको लालबन्दी नगरपालिकामा रहेको लालबन्दी नगर वाङ्मय परिषद् तेस्रो वर्षमा प्रवेश गरेको छ । वि.सं. २०७७ चैत्र १४ गते आजकै दिन लालबन्दी नगर वाङ्मय परिषद्को स्थापना भएको थियो । स्थापनाको पहिलो वर्षभरि नै कोभिड–१९ को विश्वव्यापी महामारीका कारण कुनै साहित्यिक गतिविधि सञ्चाल गर्न नसकेपनि स्थापनापश्चातको दोस्रो वर्षमा भने लालबन्दी नगर वाङ्मय परिषद्ले विभिन्न कार्य सम्पन्न गरेको थियो ।
लालबन्दी नगर वाङ्मय परिषद्ले दोस्रो वर्षमा साहित्यकार परिचय कोश तथा स्वतन्त्र रचना’ नामक पुस्तक प्रकाशन तथा लोकार्पण, ५० हजार नगद तथा प्रमाण पत्र सहित भाषा तथा साहित्य पुरस्कार’ डा. नवराज लम्सालकृत ’अग्नि’ महाकाव्यलाई प्रदान गरिएको थियो ।त्यस्तै दोस्रो वर्षमै लालबन्दी नगर वाङ्मय परिषदले रु १० हजार तथा प्रमाण पत्र सहित स्थानीय प्रतिभा पुरस्कार’ सर्जक तथा पत्रकार क्षितिज विश्वकर्मालाई प्रदान गरेको थियो ।
यसैगरी सर्लाहीका प्रतिनिधि गजलकार’, कवि उत्तम दाहालकृत ’निपाति त’ र खण्डकाव्यकार कुमार कुसुमकृत खण्डकाव्यको विमर्श कार्यक्रम, कवि नेत्र एटमकृत ’प्रिय मौनता’ कविताकृतिको कृतिविमर्श कार्यक्रम, रामलाल जोशीकृत ’बाआमा’ कृतिको कृतिविमर्श कार्य सम्पन्न, भाषा आयोग, शङ्खमूल काठमाडौँसँग लालबन्दी नगरभित्रका भाषाको संरक्षणमा लालबन्दी नगरपालिका, भाषा आयोग र लालबन्दी नगर वाङ्मय परिषद्बिच कार्य सम्पन्न गर्ने विषयमा नीतिगत छलफलको प्रारम्भ, वाङ्मय परिषद्का लागि जग्गा प्राप्ति, परिषद् भवन निर्माणको लागि बजेट विनियोजनका लागि कार्य प्रारम्भ, सुब्बा कृष्णलाल अधिकारी स्मृति पुरस्कार स्थापनाका लागि अक्षयकोष निर्माणको काम र जनज्योति बहुमुखी क्याम्पससँगको सहकार्यमा थुप्रै साहित्यिक कार्यक्रम सम्पन्न समेत गरेको थियो ।