
ईश्वरपुर ,२२ जेठ। सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं ९ मा रहेको ईश्वरपुर बेला माध्यमिक विद्यालय रामनगर मनहर्वामा ‘पर्यावरण संरक्षण चेतना कार्यक्रम’ गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख मनोज आचार्यले ईश्वरपुर नगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयलाई वातावरण तथा बालबालिकामैत्री विद्यालय बनाउने उद्घोष गरेका छन्।
विद्यालयको वातावरण संरक्षण समितिले आयोजना गरेको उक्त कार्यक्रममा आचार्यले विद्यार्थीलाई वातावरण संरक्षण चेतना अभिवृद्धि गराउन सकियो भने वातावरण संरक्षण नारामा मात्र सीमित नहुने र त्यसले प्रभावकारी स्वरूप ग्रहण गर्ने बताए।
समाजसेवी, बुद्धिजीवी, विद्यार्थी, शिक्षक, अभिभावक, विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधिलगायतको उल्लेख्य उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व विद्यालयका प्रधानाध्यापक शिवनारायण चौधरीले गरेका थिए। कार्यक्रमको प्रबन्ध तथा निर्देशन शिवनारायण सिंहबाट भएको थियो । कार्यक्रम आयोजनाको अौचित्य र आवश्यकतालाई विद्यालयका सहायक प्रधानाध्यापक मधुसुदन थापाले प्रस्ट्याएका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक सुमन घिमिरेले गरेका थिए।
विभिन्न प्रजातिका वृक्षका बिरुवा रोपण गरेर समुद्घाटन गरिएको उक्त कार्यक्रममा कार्यक्रमको विशिष्ट अतिथिहरूमा ईश्वरपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठ, नेपाली सेना, भैरवी दल गणका सहायक गणपति सेनानी उज्ज्वल कार्की, डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख, ईश्वरपुर नगरपालिकाका योजना शाखा प्रमुख पुष्करमणि घिमिरे, नगरपालिकाका शिक्षा शाखाका अधिकृत दिनेश लुइँटेल, थारु कल्याणकारी सभा सर्लाहीका सभापति सूर्यनारायण चौधरी, समाजसेवी जयप्रकाश चौधरी रहेका थिए।