
महोत्तरी, २४ जेष्ठ । एकडारा गाउँपालिकाका १७ जना अति विपन्न परिवारलाई फास्टफूड ब्यवसाय र तरकारी ब्यवसायका लागि ठेला सहित सामाग्री वितरण गरिएको छ।
एक कार्यक्रमका बीच आज एकडारा गाउँपालिकाका अध्यक्ष दिपनारायण मण्डलले उक्त सामग्री वितरण गर्नुभएको छ ।
कार्यक्रममा बोल्नु हुँदै गाउँपालिका अध्यक्ष मण्डलले विपन्न परिवारको जीविकोपार्जन प्रवद्र्धनका लागि परियोजनाले महत्वपूर्ण सहयोग गरेको बताउनुभयो ।
“विपन्न समुदायमा आयआर्जनको भरपर्दो माध्यम नहुँदा दैनिक ज्याला मजदुरी एउटा बाध्यात्मक अवस्था हो । ” अध्यक्ष मण्डलले भन्नुभयो “जीविकोपार्जनका लागि प्रदान गरिएका यस प्रकारका व्यवसायमुलक सहयोगहरु आयआर्जनका लागि कोशेढुंगा हुन सक्छन् ।”
सोही अवसरमा बोल्दै एकडारा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सरोज कुमार सिंहले प्राप्त गरेको सहयोग सामाग्रीलाई लाभग्राहीले अधिकतम प्रयोग गरी फाइदा लिनु पर्ने बताउनुभयो ।
एकिकृत ग्रामिण विकास समाज, महोत्तरीद्वारा वल्र्ड भिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा सञ्चालन गरिएको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत प्रदान गरिएको उक्त सामाग्रीमा व्यवसायका लागि ठेला, ग्याँस सेट, भाँडावर्तन, तरकारी लगायत विभिन्न सामाग्रीहरु रहेको जानकारी संस्थाको कार्यक्रम अधिकृत आरती चौधरीले दिनुभयो ।
सामाग्री प्राप्त गरेकापछि एकडारा ५ बथनाहा टोलका रेखा कापरले संस्थाले व्यवसायका लागि सामाग्रीहरु सहयोग गरेकोमा खुशी हुँदै आयआर्जनको एउटा माध्यमको रुपमा अगाडि बढाउने बताउनुभयो । यसैगरी एकडारा २ का मन्जु पासवानले दैनिक ज्याला मजदुरी भन्दा ब्यवसाय गरेर परिवारको गर्जो टार्न सहज हुने आशा ब्यक्त गर्नुभयो ।
आज हस्तान्तरण गरिएको फास्टफूड र तरकारी ब्यवसायमा जनही करिब ५० हजारको दरले करिब साढे आठ लाख रुपैयाँ बराबरको सामाग्री रहेको र परियोजनाबाट हालसम्म करिब २ सय विपन्न परिवारलाई यस प्रकारको ब्यवसाय मुलक सहयोग प्रदान गरिएको कुरा संस्थाका कार्यक्रम ब्यवस्थापक कुमार भण्डारीले दिनुभयो ।