
महोत्तरी, ६ साउन/एकडारा गाउँपालिकाका बालबालिकाहरु हप्ताको १ दिने बचतका बारेमा सिक्दै आफूसँग भएको थोरै रकम खुत्रुकेमा बचत गर्न थालेका छन् । बालबालिकालाई सानैदेखि बचत गर्न सिकाउने बानीको विकास गर्न एकिकृत ग्रामिण विकास समाज महोत्तरी र वल्र्ड भिजन इन्टरनेसनल नेपालद्वारा एकडारा गाउँपालिकामा शनिबार खुत्रुके वितरण गरिएको छ ।
संस्थाद्वारा संचालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत १ सय ५० जना बालबालिकालाई खुत्रुके वितरण गरिएको संस्थाका फिल्ड अफिसर कमल चौधरीले जानकारी दिनुभयो ।एकडारा गाउँपालिकाका वडा नं. १, ३, ४, ५ र ६ का १ सय ५० जना विपन्न परिवारका बालबालिकाहरुलाई बाल बचत समूहमा आवद्ध गराई विगत १ महिनादेखि हरेक शनिवार बाल वित्तिय साक्षरता कक्षा समेत संचालन भईरहेको र तिनै बालबालिकाहरुलाई खुत्रुके वितरण गरिएको संस्थाले जानकारी दिएको छ ।
१२ हप्तासम्म संचालन हुने बाल वित्तिय साक्षरता कक्षामा बचतको महत्व, भविष्यको योजना, पारिवारिक आम्दानी र खर्च, दिगो बचतका लागि बैंक खाता र बिमा आदि ४ प्रकारका मोडुलमा आधारित भई साक्षरता कक्षा संचालन भइरहेको कुरा संस्थाका कार्यक्रम ब्यवस्थापक कुमार भण्डारीले जानकारी दिनुभयो ।खुत्रुके वितरण कार्यक्रममा बोल्दै एकडारा गाउँपालिका वडा नं. ६ का अध्यक्ष श्याम चौधरीले सानै उमेरदेखि बचत गर्ने बानीले भविष्य उज्यालो बन्ने कुरा बताउनुभयो ।
“खुत्रुकेमा जम्मा भएको रकम नजिकैको वित्तिय संस्थामा खाता खोलि बालबालिकाको भविष्यका लागि अभिभावकले जम्मा गरिदिनु पर्छ ।” अध्यक्ष चौधरीले भन्नुभयो “यसबाट बालबालिकाको शिक्षा र स्वास्थ्यमा लगानी गर्ने राम्रो अवसर प्राप्त हुनेछ ।”बालबालिकाहरुले खुत्रुकेमा जम्मा गरेको रकमलाई स्थानीय सहकारी तथा बैकिङ संस्थाहरुमा जम्मा गर्नको लागि अभिभावकलाई प्रोत्साहन गरिएको छ ।
यसैगरी परियोजनाले एकडारा गाउँपालिकाका विपन्न महिलाहरुलाई २२ वटा रुपान्तरणका लागि बचत समूह मार्फत वित्तिय सारक्षरता कक्षा संचालन गरिरहेको छ । जसमा बचत, पारिवारिक आम्दानी र खर्च, आम्दानी खर्चको योजना आदि विषयहरु समावेश गरी ५२ हप्तासम्म सेसन संचालन भइरहेको कुरा संस्थाका निवर्तमान सचिव उमेश न्यौपानेले जानकारी दिनुभयो ।