१९ फाल्गुन २०८०, शनिबार | Email:- [email protected] | [email protected]
धनकौल गाउँपालि अध्यक्ष साह सँग ३नागरिकता रहेको आरोप, नागरिकता कीर्ते मुद्दामा पक्राउ पुर्जी जारी – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारसमाजस्थानीय

धनकौल गाउँपालि अध्यक्ष साह सँग ३नागरिकता रहेको आरोप, नागरिकता कीर्ते मुद्दामा पक्राउ पुर्जी जारी

सर्लाही,२४ भदौ । सर्लाहीको धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहविरुद्ध सर्लाही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।नागरिकता कीर्तेको अभियोगमा इलाका प्रहरी कार्यालय बरहथवामा जाहेरी परेपछि जिल्ला अदालतले पक्राउको अनुमति दिएको हो ।स्थानीय रामआधार रायले दिएको जाहेरी भदौ १८ गते दर्ता भएपछि भदौ २१ गते सर्लाही जिल्ला अदालतले पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।गाउँपालिका अध्यक्ष साहले फरक–फरक मितिमा उमेर र नम्बर समेत फरक रहेका नागरिकता लिएको भन्दै जाहेरी परेको थियो ।पक्राउ पुर्जी जारी भएलगत्तै उनी मोबाइल स्वीच अफ गरेर सम्पर्कविहिन बनेका छन् ।तीन वर्षअघि नै रायले इलाका प्रहरी कार्यालय बरहथवामा जाहेरी दर्ता गराउन प्रयास गरेका थिए । तर, त्यतिबेला जाहेरी दर्ता गर्न नमानेपछि हुलाकमार्फत जाहेरी पठाएको रायले बताए ।अझै दर्ता नभएपछि उच्च अदालत जनकपुरमा परमादेशको माग गर्दै रिट हालेको उनले खुलाए । त्यसपछि २०७९ पुस १४ गते न्यायाधीश विष्णुप्रसाद कोइराला र न्यायाधीश सागर विष्टको संयुक्त इजलासले जाहेरी दर्ता गर्न परमादेश गरेको थियो ।

’निवेदन दाबीअनुसारको जाहेरी दरखास्त हुलाकमार्फत पठाएको भन्ने जिल्ला प्रहरी कार्यालय, सर्लाहीको लिखित जवाफबाट देखिँदा निवेदक जाहेरी दरखास्त सनाखत गर्न आए आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाउनू भनी विपक्षीहरूको नाउँमा परमादेशको आदेश जारी हुने ठहर्छ,’ उच्च अदालत जनकपुरले गरेको आदेशमा उल्लेख छ ।’परमादेशपछि पनि प्रहरीले जाहेरी दर्ता गर्न ८ महिनाको समय लगायो,’ जाहेरीकर्ता रायले लोकान्तरसँग भने, ’आठ महिनापछि बल्ल भदौ १८ गते जाहेरी दर्ता भएको छ । जाहेरी दर्ता भएर भदौ २२ गते पक्राउ पुर्जी पनि जारी भइसकेको छ । तर, पनि प्रहरीले उनलाई पक्राउ गरिरहेको छैन ।’रायका अनुसार २०३४ सालमा साहले लिएको नागरिकतामा २३ वर्ष उमेर लेखिएको छ ।’तर, पछि उनले गरेको जग्गा रजिस्ट्रेसनमा ५३ वर्ष उमेर लेखेको पाइएको छ,’ जाहेरवाला रायले लोकान्तरसँग भने, ’उनले २३ वर्षलाई ३३ वर्ष बनाएर नागरिकता लिई वृद्ध भत्ता खाएका छन् ।’वृद्ध भत्ता खानकै लागि उनले आफ्नो उमेर १० वर्ष बढाएर नागरिकता लिएको रायको दाबी छ ।

’आफैं गाउँपालिका अध्यक्ष भएपछि उनले आफ्नै नागरिकता कीर्ते गरेका हुन्, फरक–फरक नागरिकता नम्बर र नागरिकतामा उल्लेख गरिएको उमेर नै प्रस्ट प्रमाण हो,’ रायले भने ।परमादेशको आदेशपछि जाहेरी दर्ता भएको तथा अदालतबाट पक्राउ पुर्जी जारी भएको इलाका प्रहरी कार्यालय बरहथवाका इन्चार्ज समेत रहेका प्रहरी नायब उपरीक्षक डीएसपी लीलाराज लामिछानेले पनि पुष्टि गरेका छन् ।’अदालतको परमादेशसहित जाहेरी दर्ताका लागि निवेदन आएकाले भदौ १८ गते जाहेरी दर्ता गरिएको हो,’ डीएसपी लामिछानेले लोकान्तरसँग भने, ’हामीले दर्ता गरेर पक्राउ अनुमति पनि लिएका छौं ।

तर, पक्राउ भने गर्न सकेका छैनौं ।’अब के गर्ने र कसरी अगाडि बढ्ने भन्ने विषयमा जिल्ला प्रहरी प्रमुखसँग सल्लाह गरिरहेको उनले खुलाए ।गाउँपालिका अध्यक्ष साहसँग प्रतिक्रिया लिन गाउँपालिकाको वेबसाइटमा उल्लेख ९८५४०३८६१६ नम्बरमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।उक्त गाउँपालिकाका उपाध्यक्ष अकली सहनीको फोनमा बुझ्न खोज्दा उनका श्रीमान हरेन्द्र सहनीले फोन उठाए ।उनले पनि पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष फोन स्विच अफ गरेर सम्पर्कविहीन भएको स्वीकारे ।’उहाँविरुद्ध नागरिकता कीर्ते मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । तीन दिनदेखि पालिकामा पनि आउनुभएको छैन । उहाँको मोबाइल अफ छ,’ सहनीले भने ।स्रोत ः लोकान्तर अनलाइन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.