
भक्ती रिजाल
सर्लाही,२५ भदौ। एकताका इलाका प्रहरी कार्यालय हरिवनमा प्रहरी निरीक्षक (इन्सपेक्टर) केपी शर्मा सरुवा भएर आएका थिए। त्यतिबेला शर्माको काम गराइको हरिवन क्षेत्रमा निकै तारिफ भएको थियो।
‘इलाका प्रहरी कार्यालय हरिवनका इन्सपेक्टर केपी शर्मा’ भन्ने बित्तिकै दुई नम्बरी धन्दा चलाउँनेहरु थर्कमान हुन्थे। उनले विशेषगरी हरिवन क्षेत्रमा गुण्डागर्दी नियन्त्रणमा त्यतिबेला महत्वपूर्ण काम गरेका थिए।
इन्सपेक्टर केपी शर्माको काम गराइको कारण हरिवन क्षेत्रका जनताले अहिले पनि उनलाई सम्झिने गर्छन्।
केपी शर्मा हरिवनबाट सरुवा भएर गए। उनी यतिबेला प्रहरी सेवाबाटै निवृत्त भइसकेका छन्। तर, अहिले पनि कतिपय बेला हरिवनका वौद्धिक जमात ‘केपी शर्मा जस्तो इन्सपेक्टर हरिवनमा फेरि पनि आएहुन्थ्यो’ भन्छन्।
संयोग नै भनौँ, उनै केपी शर्माको पालामा असइ भएर सँगै काम गरेका अनिलराज गिरी यतिबेला इलाका प्रहरी कार्यालय हरिवनको इन्सपेक्टर भएर आएका छन्।
हरिवनको शान्ति सुरक्षामा गिरीको योगदान कस्तो रहन्छ, त्यो भविष्यले बताउला। तर, गिरीको आगमनसँगै हरिवनको शान्तिसुरक्षामा सकारात्मक परिवर्तन आउन थालेको अनुभूति सर्वसाधारणले गर्न थालेका छन्।
विगतमा केपी शर्माको झल्को दिनेगरि इन्सपेक्टर गिरीले हरिवन क्षेत्रको शान्ति सुव्यवस्थामा काम गर्न थालेको युवा व्यवसायी युवराज भन्डारीले बताए।
लागू औषध नियन्त्रण, चोरी तस्करी, सवारी दुर्घटना, काठ तस्करी, जुवातास तथा जाँड रक्सी निणन्त्रणका क्षेत्रमा गिरीले प्रभावकारी ढंगले काम गर्न थालेका छन्।
कानुनले बर्जित गरेका कुनै पनि गलत क्रियाकलाप हरिवन क्षेत्रमा हुन नदिने इन्सपेक्टर गिरीले बताए।
‘विशेष गौंडा र सम्वेदनशील क्षेत्रलाई ध्यान दिँदै लागू औषध ओसार प्रसार नियन्त्रणमा हामीले काम सुरु गरेका छौँ,’ उनले भने, ‘ यो धन्दामा लागेका व्यक्तिहरुको पहिचान र निगरानी गर्ने काम हामीले अघि बढाएका छौँ। जतिसुकै पहुँचवाला भएपनि गलत क्रियाकलाप गर्नेलाई छाडिन्नँ।’
ठूला व्यापारीले भारतबाट भन्सार छलेर ल्याइएका करोडौं मूल्यका सामानले साना व्यापारीहरु मारमा पर्ने गरेको उनले बताए।
‘यसबाट साना व्यापारी टाट पल्टिने अवस्था सिर्जना भएको छ,’ गिरीले भने, ‘हामी चोरी तस्करी नियन्त्रणमा प्रभावकारी ढंगले काम गरिरहेका छौँ।’
हरिवन बजार क्षेत्रको शान्ति सुव्यवस्थामा कुनै कमी आउन नदिने भन्दै गिरीले ढुक्कसँग व्यापार व्यवसाय संचालन गर्न व्यपारीलाई आग्रह गरे।
उनले हरिवन उद्योग वाणिज्य संघ, नगरपालिका, राजनीतिक दल, सञ्चार क्षेत्र सबैसँग छलफल र सहकार्य गर्दै शान्ति सुरक्षाको कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे।