
सर्लाही,२९ भदौ । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा वक्तृत्वकला प्रतियोगिता गरी ५९औँ राष्ट्रिय बाल दिवस मनाइएको छ ।अष्ट्रेलियन एड, वल्र्ड भिजन इन्टरनेसनल, ह्याण्डीक्याफ इन्टरनेशनल, विश्व शिक्षा तथा राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्र(आरआरपिके) सर्लाही र चन्द्रनगर गाउँपालिकाको समन्वयमा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस मनाइएको हो ।
बाल दिवसको अवसरमा गरिएको वक्तृत्वकला प्रतियोगितामा सहभागी विधार्थीहरुले बालअधिकारसम्बन्धी विभिन्न व्यवस्था भए पनि सबै बालबालिका गुणस्तरीय शिक्षा प्राप्त गर्न नसक्नु, बालमैत्री वातावरणको अभावमा विकास र संरक्षण हुन नसक्नु, बालश्रमको अवस्था र सडक बालबालिकाको अवस्था विद्यमान रहनु, असहाय र अनाथ बालबालिकाको संरक्षण तथा उचित व्यवस्थापन हुन नसक्नु, हिंसा, यौन दुव्यर्वहार, बलात्कारका अवस्था विद्यमान रहनुलगायतका समस्याहरु प्रस्तुत गरेका थिए ।
प्रधानाध्यापक लालबाबु रायले बाल दिवस मनाउनु राम्रो विषय हो, तर शिक्षामा एकरुपता छैन, गुणस्तरीय शिक्षा बालबालिकाहरु लिन पाएको छैन, बालबालिकाको सम्पूर्ण अधिकार पुरा भए मात्र बाल दिवसको अौचित्य हुने उहाले बताउनुभयो ।
चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले बाल दिवसको शुभकामना दिनुहुँदै चन्द्रनगरमा शिक्षाको स्तर गुणस्तरीय नभएको बताउनुभयो ।उहाले चन्द्रनगरका जनप्रतिनिधिहरु बालबालिका प्रति ईमान्दार नभएकोले पनि बालबालिकामा लगानी नभएको बताउनुभयो ।
वक्तृत्वकला प्रतियोगितामामा प्रथम दुर्गा खोभारी जन्ता माविमा अध्यनरत विधार्थी प्रशान्त कुमार महतो, द्वितीय राम जन्ता आधारभुत विधालय बडकुर्वामा अध्यनरत विधार्थी नवराज कुमार राम र तृतीय दुर्गा खोभारी जन्ता माविमा अध्यनरत विधार्थी चंचला कुमारी साह बनेकी छन ।प्रथम, द्वितीय, तृतीय लगायत सहभागी अन्य विधार्थीलाई, स्टेशनरी, ज्यामिति बक्स, डिक्सनरी लगायतको पुरुषकार वितरण गरिएको राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्रका संरक्षण संयोजक नागेन्द्र प्रसाद साहले जानकारी दिनुभयो ।वक्तृत्वकला प्रतियोगितामामा चन्द्रनगरका विभिन्न विधालयका छात्र तथा छात्राहरूको सहभागीता रहेको थियो
विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो । नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल सङ्गठन (बाल मन्दिर) स्थापना गरी अनाथ, टुहुरा बालबालिका संरक्षणको थालनी गरेको दिनलाई राष्ट्रिय बाल दिवस घोषणा गरी नियमितरूपमा मनाउन थालेको पाइन्छ ।
सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घ महासभाबाट बालअधिकारसम्बन्धी महासन्धि पारित भयो । पछि यसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन थालियो । सोहीअनुरुप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको छ ।संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिताजस्ता विषय समेटी सर्वाङ्गीण विकासको प्रत्याभूत गरेको छ ।
संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ तथा अन्य बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा गरेको प्रतिबद्धताअनुरुप सरकारले बाल अधिकारसम्बन्धी नीति तथा कानुन तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ ।
यसैगरी सङ्घीय संरचनाअनुसार बालबालिकासम्बन्धी कानुन, नीति, योजना, कार्यक्रम तथा संस्थागत संयन्त्र स्थानीय तहदेखि सङ्घसम्म सञ्चालन हुँदै जानु, बालबालिकाको संरक्षणसम्बन्धी विषय तीन तहको सरकारको अधिकार क्षेत्रभित्र पर्नु, सरकार, सङ्घसस्था र नागरिक समाजबीच समन्वय, सहयोग र सहकार्यमा भएको अभिवृद्धिले यस क्षेत्रका समस्या समाधान गरी बालबालिकाका हक, अधिकार संरक्षण गर्न टेवा पुग्दछ ।दिगो विकास लक्ष्यमा बालबालिकाको गुणस्तरीय शिक्षा तथा स्वास्थ्य, बालबालिका तथा किशोर–किशोरीविरुद्ध हुने सबै प्रकारका विभेद, शोषण, दुव्र्यवहार र हिंसाको अन्त्य गरी सशक्त गर्नेजस्ता परिमाणात्मक लक्ष्य समावेश गरिएको र सोहीअनुरुप उक्त विषयलाई सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।