
सोम दियाली, सर्लाही
असोज १५ ।। सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर १ जानकीनगरमा स्थानीय सामुदायिक वन क्षेत्रभित्रको पोखरीको स्वामित्व सम्बन्धि विषयमा देखिएको विवाद समाधान नजिक पुगेको छ । विवाद समाधानका लागि सहजिकरण गरिरहेको प्राकृति स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले प्राकृतिक श्रोत द्वन्द रुपान्तरण प्रक्रिया प्रस्ताव पारित गर्न संयुक्त बैठक सम्पन्न गरेसंगै विवाद समाधान नजिक पुगेको हो ।
त्यहाँस्थित स्थानीय जानकी सामुदायिक वन उपभोक्ता समूह, देउराली सामुदायिक वन उपभोक्ता समूह, स्थानीय हरिहर जनता आधारभुत विद्यालय र पोखरीका ठेकेदारपक्षबीच पोखरीको स्वामित्व लगायतका विषयमा विवाद उत्पन्न भएपछि हरिपुर नगरपालिकाको न्यायिक समिति र सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ सर्लाहीको सिफारिसमा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्रले सो विवाद(द्वन्द) रुपान्तरणमा अघि सरेको थियो । सोही बमोजिम केन्द्रले गठन गरेको माकुरा समुहको सक्रियतामा प्रक्रिया प्रस्ताव बैठक पारित गर्न संयुक्त बैठक आयोजना गरिएको थियो ।
सम्बन्धित वडा(हरिपुर १) का वडा अध्यक्ष नानीबाबु थापाको अध्यक्षता तथा उपमेयर निलमदेवी यादवको प्रमुख आतिथ्यतामा भएको संयुक्त बैठकमा डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख मन्जुर अहमद, सव डिभिजन वन कार्यालय जानकीनगरका प्रमुख रोहित चौधरी, सामुदायिक वन उपभोक्ता समहासंघ(फेकोफन) सर्लाहीका अध्यक्ष सिताराम पोखरेल, उपाध्यक्ष प्रह्लाद बुढाथोकी लगायत सरोकारवालापक्षहरुको उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।
वैठकमा पोखरीको विषयमा देखिएको विवाद समाधानका लागि आफूहरुले अपनाउने प्रक्रियाहरु सरोकारवालापक्षहरुसँग अलग–अलग धारणा संकलन गरी प्राप्त सल्लाह सुझावलाई माकुरा समूहको बैठकमा समिक्षात्म छलफल गरी तयार पारिएको प्रकृया प्रस्ताबको खेस्रा प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रकी राष्ट्रिय स्रोत व्यक्ति पार्वती विश्वकर्माले बैठकमा प्रस्तुत गरी खाटबिधिको निययम अनुसार मुडामा बसेर सबैको सल्लाह सुझावसहित सर्वसम्मत पारित भएको बताउनुभयो । ‘माकुरा समूहले सबैपक्ष तथा सरोकारवालाहरुको सहमतिमा प्रक्रिया प्रस्ताव तयार गरेको हो । यही प्रक्रिया अनुसार कसैले पनि नहार्ने सबैले जित्ने ढंगले नै द्वन्द रुपान्तरण हुनेमा हामी आशावादी छौं ।’ वैठकको सहजीकरण समेत गर्नुभएकी राष्टिय स्रोत व्यक्ति विश्वकर्माले भन्नुभयो ।, ‘द्वन्द रुपान्तरणका लागि सबै पक्षले सहयोग गर्नुहुन्छ भन्ने कुरामा पनि हामी विश्वस्त छौं ।’
प्रक्रिया प्रस्ताव बैठकलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी हरिपुर नगरपालिकाकी उपमेयर निलमदेवी यादवले एक आपसमा मिलेर जान र विवाद नलम्ब्याउन सबै सरोकारवालापक्षहरुलाई आग्रह गर्नुभयो ।
त्यस्तै डिभिजन वन कार्यालयका प्रमुख मन्जुर अहमदले पनि विवादलाई थप नलम्ब्याउन आग्रह गर्नुभयो । उहाँले सामुदायिक वन क्षेत्रभित्र खनिएको पोखरी कानूनतः सामुदायिक वनकै हुने भएकोले कानून विपरीत नगर्न सरोकारवालापक्षलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘वनक्षेत्रभित्रको पोखरी वनकै हुन्छ, न कि विद्यालयको वा नगरपालिकाको । बरु त्यसको आम्दानी विधानतः कहाँ कसरी खर्च गर्ने भन्ने कुरा सामुदायिक वनले निर्णय गरे बमोजिम हुन्छ ।’
त्यस्तै सामुदायिक वन उपभोक्ता महासंघ सर्लाहीका अध्यक्ष सिताराम पोखरेलले पनि विवादलाई जति सक्दो छिटो सल्ट्याउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘ वनक्षेत्रभित्रको पोखरीमा वन या सामुदायिक वनबाहेक अरुले स्वामित्व दावी गर्न नपाउने कुरा डिएफओसापले भनि सक्नुभएको छ । म पनि यहाँहरुलाई एक आपसमा मिलेर जान र विवादलाई जतिसक्दो छिटो सहमतिमा परिणत गर्न आग्रह गर्दछु ।’
प्रक्रिया प्रस्तावमा द्वन्दरतपक्षको तर्फबाट देउराली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मुङ्गालाल पाख्रिन, सचिव रामसृष्ट राय, जानकी सामुदायिक वन उपभोक्ता समूहको तर्फबाट अध्यक्ष मईते विश्वकर्मा, सचिव फेकन महतो, हरिहर जनता निम्न माध्यमिक विद्यालयको तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमराज काफ्ले, ठेकेदारका तर्फबाट प्रदिप विश्वकर्मा, वडा कार्यालयका तर्फबाट वडाअध्यक्ष नानीबाबु थापा, नगरपालिकाको तर्फबाट उपमेयर निलदेवी राय यादवले हस्ताक्षर गर्नुभएको छ ।
त्यसैगरी द्वन्द रुपान्तरणका लागि केन्द्रले गठन गरेको माकुरा समूहको तर्फबाट कुमार चौलागाई, बेगबहादुर कोइराला, चुडामणि तिमल्सिना, धरणीप्रसाद दुलाल, रामकैलाश राय, खेमबहादुर लामिछाने, जयकलादेवी रामले हस्ताक्षर गर्नुभएको प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रकी सहजकर्ता प्रज्ञा सापकोटाले जानकारी दिनुभयो ।