
काठमाडौं । आम जनता पार्टी (आजपा) का केन्द्रीय सदस्य धर्मेन्द्र सापकोटालाई पार्टीले विदेश विभागको जिम्मेवारी दिएको छ ।
आजपाका महासचिव उपेन्द्र साहका अनुसार पार्टीको अन्तरिम विधान २०७९को धारा ३५ (ख) बमोजिम केन्द्रीय सदस्य सापकोटालाई विदेश विभागको जिम्मेवारी दिइएको हो ।
पार्टीको विधि–विधानको अधिनमा रही देश र जनताको पक्षमा आफ्नो भुमिका कुशलतापुर्वक निर्वाह गर्नुहुने गहिरो अपेक्षा एवं दृढ विश्वास सहित यो जिम्मेवारी दिइएको भन्दै महासचिव साहले सापकोटालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
भरतपुर महानगरपालिका –५ चितवन निवासी सापकोटा केही समय अघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवन जिल्ला अध्यक्षको जिम्मेवारी सहित पार्टी परित्याग गरेर आजपामा प्रवेश गरेका थिए ।
विदेश विभाग प्रमुखको जिम्मेवारी पाएका केन्द्रीय सदस्य सापकोटालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै आजपा अध्यक्ष प्रभु साहले विदेशमा समेत पार्टीको संगठन विस्तार गर्न निर्देशन दिए ।
विदेशमा रहेका नेपाली श्रमजीवि वर्गलाई एकजुट गर्दै उनीहरुको समस्या पहिचान गर्ने र सम्बोधनका लागि सरकारलाई दबाब दिने काम पार्टीले गर्ने बताउँदै अध्यक्ष साहले नेपालबाट विदेशमा श्रम गर्न गएका श्रमजीवि बर्गलाई संगठित गर्नुपर्ने बताए ।