१९ फाल्गुन २०८०, शनिबार | Email:- [email protected] | [email protected]
आफूहरुमाथि विभेद भएको गुनासो गर्छन हरिपुरका दलित समुदाय – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

आफूहरुमाथि विभेद भएको गुनासो गर्छन हरिपुरका दलित समुदाय

निराजन खत्री

हरिपुर । हरिपुर नगरपालिकाका दलित समुदायले अहिले पनि आफूहरुमाथि विभिन्न विभेद हुने गरेको गुनासो गरेका छन् ।

यहाँ दलित अन्तर्गत मुसहर समुदायको बसोवास धेरै छ । हरिपुरको वडा नं. १ देखि ९ सम्म नै दलित समुदायको बसोवास छ । त्यसमा पनि धेरै मुसहर छन् । ती मुसहर समुदायले आफूहरु माथि दलित भएकै कारण विभेद भएको गुनासो गर्छन् ।

हरिपुर नगरपालिका ६ लक्ष्मीपुरका विनोद माझी आफूमाथि बोलिबचन तथा व्यवहारमा पनि विभेद रहेको दुःखेसो पोख्छन् । उनले आफ्नै बस्ती छेउका पूर्व नगरप्रमुख जमिरुदिन मन्सुुरले दलित भएकै कारण ५ वर्षसम्म आफूहरुको कुरा सुक्दै नसुनेको गुनासो गरे ।

“यसअघि हाम्रै टोलका मेयरसाब हुनुहुन्थ्यो तर उहाँले हामी दलित भनेर हाम्रा लागि गाउँबास, सडक, खानेपानीका लागि केही गरिदिनुभएन, हामी समस्यामै छौँ,” माझीले भने, “हामी दलित भएकै कारण विभेदमा पर्यौँ, हामी माथि उपल्लो भनिएका जातिले श्रम शोषण पनि गरेका छन् ।” उनले अहिले पनि माझी, मुसहरलाई दैनिक दिने ज्यालामा विभेद गरिएको बताए ।

अन्य ठाउँमा एक बिहान वा दिउँसो मात्रै खेतबारीको काम गर्दा ४ सय देखि ५ सय सम्म ज्याला दिने गरेकामा दलित आफूहरुलाई दिनभर काम गर्दा पनि मुस्किलले ३ सय रुपैयाँ दिे गरिएको उनले बताए । साहुबाट ऋण लिइसकेका अधिकांश न्यून ज्यालामै बधुँवा मजदुर भएर काम गर्न बाध्य छन् ।

मुसहरमाथि जारी आर्थिक, सामाजिक र राजनीतिक विभेदको कारक स्थानीय मधेसी समाज हो भने राजनीतिक अधिकार, भूमिहीनता र नागरिकतालगायत समस्याको कारक राज्यका नीतिनियम र नियत हुन् ।

लक्ष्मीपुरको मुस्लिम बस्ती र मुसहर बस्ती सँगै छ । मुस्लिम बस्तीका स्थानीयको दैनिकी फेरिँदै गएको छ । उनीहरुको दैनिक सहज बन्दै गएको छ ।

तर आफूहरुको दैनिकी भने गरिबीले थिच्दै गएको स्थानीय सुनितादेवी माझीले बताईन् । “हामीलाई हेर्नुपर्ने जनप्रतिनिधिले हेरिदिएनन्, हाम्रो जन्मदर्ता छैन्, त्यसैले नागरिकता बनेको छैन्, यसमा जनप्रतिनिधिले पहल गर्दिएका छैनन्, ” उनले भनिन्, “जन्मदर्ता र नागरिकता बनाउन जाँदा अहिले पनि पैसा मागिन्छ, हामी दलितले कहाँबाट ल्याएर पैसा तिर्ने, त्यसैले हाम्रो कुरा सुनिदिने कोही भएनन्, हामीहरुलाई जनप्रतिनिधिले पनि बिभेद गरे ।

सामरी उत्थान सेवाका प्रतिनिधिसँग लक्ष्मीपुर बस्तीमा पुग्दा दलित समुदायमा आफ्ना छुप्रा घर, अव्यवस्थित सडक, नालाको समस्या, खानेपानीको समस्या देखाउन थाले । उनीहरु अन्य समुदाय अगाडि बढिरहेको र आफूहरुलाई दिनदनै आर्थिक समस्या, गरिबी, अशिक्षा र बेरोजगारको समस्याले थिच्दै गएको गुनासो गर्छन् ।

बस्तीका दिलिप माझी यसअघिका वडाध्यक्ष र नगरप्रमुखको पालामा आफूहरुको ठाउँमा धेरै मुस्लिम समुदायको वर्षौपछि जनप्रतिनिधिले नागरिकता बनाइदिएको बताउँछन् । तर मुसहरको नागरिकता बनाउन ध्यान नदिएकोमा उनी खुसी छैनन् ।

उनले नगरप्रमुख कहाँ जाँदा आश्वासन मात्रै दिने गरेको र हप्कार पनि खाएको स्मरण गर्छन् । ”यहाँ पैसा खुवाएर धेरैले नागरिकता बनाएर तर वर्षौदेखि बसोवास गर्दै आएका मुसहरले पैसा बुझाउन नसकेपछि नागरिकता पाएनन्, यो त सरासर विभेद हो,” उनले भने “हामी मुसहरको बोलिदिने कोही नभएपछि यस्तो भएको हो ।”

मुसहर जातिको एकिन उत्पत्ति स्थल जानकारीमा आउन सकेको छैन हालसम्म । तर नेपालमा यो जातिको इतिहास नयाँ भने नभएको बिभिन्न ऐतिहासिक दस्तावेजबाट पुष्टि गर्दछ ।

मुसहर समुदाय नेपालको तराई भूभाग तथा भारतको बिहार ,युपी,एमपी लगायत बिभिन्न स्थानमा बसोबास गरेको पाईन्छ । अति सिमान्तकृत समुदायको रूपमा मुसहरहरू नेपाल र भारतीय भूमिमा बसोबास गरिरहेको छ ।

दलित समुदायको क्षेत्रमा काम गर्दै बलिराम विश्वकर्माका अनुसार मधेशमा डोम र दलित समुदायमाथि गरिने विभेदका कारण पनि उनीहरु नागरिकता बनाउनबाट बन्चित भइरहेका छन् ।
विश्वकर्माले भने, ‘नागरिकता बनाउन जाँदा जिल्ला प्रशासन कार्यालयमा उनीहरुलाई हप्काएर÷गाली गरेर फर्काइन्छ । सम्झाउनुको सट्टा गाली गर्दा उनीहरुको मनोबल कमजोर हुन्छ र नागरिकता बनाउन उनीहरु फेरि कार्यालय जाँदैनन् ।’
स्थानीय सरकार आइसकेपछि पनि डोम र मुसहर समुदायका व्यक्तिलाई नागरिकता दिलाउन खासै पहल नभएको पनि उनको भनाइ छ ।
संविधानको धारा १० मा ‘कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित गरिने छैन’ भनिएको छ । धारा ११ मा कुनै पनि व्यक्तिको जन्म हुँदा निजको बाबु वा आमा नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्ति नेपाली नागरिक ठहर्नेछ भनिएको छ ।
तर, पुस्तौदेखि नागरिकता नपाएका हरिपुरकी श्यामोदेवी सदा जस्ताले प्रमाण दिन पनि सकेका छैनन् । राज्यले नागरिक बनाउने विकल्प पनि खोजेको छैन ।
आर्थिक राजनैतिक र सामाजिक रूपमा पछाडि परेको यो समुदाय हाल केही समय यता आफ्नो जीवनस्तर उठाउन प्रयासरत छ । हरिपुरका मुसहर पनि अहिले आफ्ना कुरा राख्न सक्ने भने हुन थालेका छन् । यो सकारात्मक परिवर्तन हो ।
हरिपुर ८ की पारोदेवी पासवान दलित भएकै कारण विभेद सहन परेको गुनासो गर्छिन् । उनी आफूहरुको बस्तीमा पछिल्लो समय भने विस्तारै विकास हुन थालेकोमा खुसी व्यक्त गर्छिन् ।
उनले पहिलेपहिले दलित भनी जातिय विभेद भएपनि अहिले विस्तारै विभेद कम हुँदै गएको तर दलित समुदायलाई हेर्ने दृष्टिकोण भने नफेरिएकोमा उनी चिन्तित छिन् । बस्तीको विकासमा जनप्रतिनिधिले ध्यान दिन थालेपनि अन्य समुदायबाट हुने अप्रत्यक्ष विभेद भने नरोकिएको उनी गुनासो गर्छिन् ।

पासवानले दलित समुदायलाई अगाडि बढाउन अझ साथ र सहयोगको खाँचो औँल्याउँछिन् । “हामीलाई हेर्ने समाजको दृष्टिकोण अझै फेरिएको छैन्, तिमीहरु त दलित न हौँ भन्ने किसिमको भनाई अप्रत्यक्षरुपमा सुनिन्छ, हामीलाई अन्याय गर्नेलाई अहिले कडाईका साथ कानूनी कारवाही हुने डरले अन्याय त हुन पाउँदैन्,” उनले भनिन, “भित्रिरुपमा हामीलाई अझै दलित भनेर पछाडि राख्ने काम हुन्छ, धेरै कुरामा अघि बढ्न दिइएको छैन् ।“

मधेसका मुसहर मूलभूत रूपमा माटाको काम गर्ने समुदाय हुन् । मुसहरको जीवन माटामा आश्रित हुन्छ । सामन्ती सोच र व्यवहार व्याप्त रहेको मधेसी समाजमा मुसहर सबैभन्दा पीँधमा परेको अति विपन्न समुदाय हो ।
मुसहरलगायत मधेसका दलित समुदाय समाज र राज्य दुवैबाट प्रताडित छन् । मुसहरमाथि जारी आर्थिक, सामाजिक र राजनीतिक तीनै प्रकारका विभेदको कारक स्थानीय मधेसी समाज हो भने, राजनीतिक अधिकार, भूमिहीनता र नागरिकता लगायतका समस्याको कारक राज्यका नीतिनियम र नियत हुन् । तर हरिपुर नगरपालिका ६ लक्ष्मीपुरका अहिलेका वडाध्यक्ष प्रेमहरि श्रेष्ठ पहिले जस्तो मुसहर र अन्य दलितमाथि विभेद हुन नदिने दावी गर्छन् ।

उनी आफू पनि पहिलेका जनप्रतिनिधिले विभेद गरेको स्वीकार गर्छन् । “म निर्वाचित भएर आएपछि मुसहर होस् वा अन्य दलित कोही पनि शोषित, पीडित हुनुपरेको छैन्, मैले सबैलाई समान हिसाबले न्याय दिएको छु, अझ मुसहरका लागि त जन्मदर्ता, अन्य सिफारिस लिँदा म आफैले पैसा पनि हालिदिएको छु,” उनले भने “म वडाध्यक्षमा रहँदासम्म मुसहरमाथि विभेद हुन दिने छैन् ।”

केही वर्षयता मुसहर अगुवाहरूले बर्सेनि दिनाभद्री दिवस, माटो दिवस भव्यताका साथ मनाउन थालेका छन् । ती कार्यक्रममा विभिन्न जिल्लाका हजारौंहजारको संख्यामा मुसहरहरूको उपस्थिति हुँदो रहेछ । दलित अगुवा वीरु माझी यस्ता गतिविधिले दलितको एकता र संगठन बजबुत बनाउन टेवा पुगेको बताउँछन् ।

माझीले दलित समुदायमाथि हुने विभाद बाहिर सार्वजनिक हुनुपर्ने र अनि मात्रै पीडितले न्याउ पाउने बताएका छन् । बाहिर आएपछि पीडितलाई न्याय दिलाउन र पीडकमाथि कारवाही चलाउन पनि सहज हुने उनी बताउँछन् ।

पीडित दलित आफूमाथि भएको विभेद र हिंसाका विषय खुलेर बाहिर लिएर आए भने न्याय दिलाउन सहज हुन्छ,” उनले भने “बाहिर खुलेर आउन सक्ने हिम्मत पनि गर्नुपर्छ, अहिले त दलित अधिकारका लागि कानून पनि छन् । त्यसको प्रयोग गरेर भएपनि न्याय पाउनुपर्छ ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.