१६ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
अस्पतालमा घुस्यो राजनीति, मारिए निहत्था युवा – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

अस्पतालमा घुस्यो राजनीति, मारिए निहत्था युवा

सर्लाही। अस्पताल सञ्चालनको विवादमा घुसेको राजनीतिले उग्र रुप लिँदा सर्लाहीको बरहथवा–६ मा प्रहरीको गोलीबाट एक निहत्था युवा मारिएका छन् ।शुक्रबार प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका वडा नम्बर ६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएको हो ।घटनापछि स्थानीय प्रशासनले बरहथवा नगर क्षत्रेमा भोलि शनिबार बिहान ८ बजेसम्म कफ्र्यू लगाएको छ ।तर तनाव कम भएको छैन । स्थानीयले मृतकको शव राखेर प्रदर्शन गर्दै आएका छन् ।

के हो विवाद?

संघ सरकारले १८ करोड रुपैयाँ खर्चिएर बरहथवा बजारको तत्कालीन प्राथमिक स्वास्थ्य चौकीको नयाँ भवन बनाएको छ । यो भवनमा १५ शैय्याको अस्पताल बनाउने कि ५० शय्याको बनाएर प्रदेश सरकारलाई चलाउने दिने भन्ने विवाद हो ।

प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा बरहथवामा ५० शय्याको अस्पताल बनाउने घोषणा गरेको छ । बरहथवा नगरपालिकाको नगर कार्यपालिकाले ९ असोज २०८० मा बैठक बसेर प्राथमिक स्वास्थ्य चौकीको भवन ५० शय्याको अस्पताल सञ्चालन गर्न प्रदेशलाई दिने निर्णय पनि गरेको हो ।

तर एकाएक राजनीति सुरु भयो । सर्लाहीबाट निर्वाचित प्रदेशसभा सदस्य वीरेन्द्र सिंह मधेश प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्री छन् । प्रदेशले अस्पताल चलाए कांग्रेस लगायतका सत्तारुढ दल हाबी हुने स्थानीय सरकारको नेतृत्व गरेको दल एमाले नेताहरुको बुझाइ बन्यो ।

एमालेबाट निर्वाचित मेयर कल्पनाकुमारी कटवालले निर्णयअनुसार प्रदेश सरकारलाई सहमति पत्र दिइनन् । प्रदेश सरकारले अरु अस्पताल राम्रोसँग सञ्चालन नगरेको भन्दै उनले नगरपालिकाले नै १५ शय्याको अस्पताल सञ्चालन गर्नुपर्ने मत राखिन् ।

कांग्रेससहित सत्ता गठबन्धनका दलहरुले भने कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न दबाव बढाए ।

१७ पुसको बैठकमा चर्को विवाद भयो । टेबल कुर्सी तोडफोडसम्म भएको एक कर्मचारीले सुनाए । त्यो बैठकले बहुमतका आधारमा ५० शय्याको अस्पताल सञ्चालन गर्न प्रदेश सरकारलाई दिने अघिल्लो निर्णय तत्कालका लागि स्थगित गर्ने निर्णय ग¥यो । मेयर कटवाल नेकपा एमालेबाट निर्वाचित भएकी हुन्, उपमेयरसहित कार्यपालिकाका बहुमत सदस्य पनि एमालेबाट निर्वाचित भएका छन् ।

अरुले विरोध गरेका कारण अस्पतालबारे निर्णय गर्न आज २० पुसमा सर्वदलीय बैठक बस्ने सहमति भयो ।

५० शय्याको अस्पताल बनाउने निर्णय कार्यान्वयनका लागि दबाव दिन भन्दै शुक्रबार उद्योग बाणिज्य संघले बजार बन्द आह्वान ग¥यो । नेपाली कांग्रेस सहितका राजनीतिक दलले समर्थन गरेका कारण विहानैदेखि बजार बन्द थियो ।

नेपाली कांग्रेसबाट निर्वाचित वडा नम्बर १२ का वडाध्यक्ष रामजी राम यादवका अनुसार दलका प्रतिनिधिहरु सर्वदलीय बैठकका नगरपालिका पुग्दा नपुग्दै बैठक स्थगित भयो । नगर प्रमुख कटवालले जारी गरेको बैठक स्थगितको सूचनामा आन्दोलनका बीच सर्वदलीय बैठक गर्नुको औचित्य नभएको उल्लेख छ ।

वडाध्यक्ष यादवका अनुसार बैठक स्थगित गरेपछि पनि मेयरको कार्यकक्षमा छलफल चलिरहेको थियो । ‘मेयरज्यूले सार्वदलीय टोली जनकपुर जाउँ र मन्त्रीसँग कुरा गरौं भन्नु भएको थियो । हामी छलफलमै थियो, बाहिर तनाव बढ्यो ।’

अस्पताल प्रदेश मातहत जानुपर्ने र स्तरोन्नति हुनुपर्ने माग गर्दै नेपाली कांग्रेस सहितका दलले प्रदर्शन गर्न थाले । त्यही क्रममा भीडले नगरपालिकामा ढुंगामुढा गर्न थाल्यो ।
प्रहरीले रोकेपछि प्रदर्शनकारीहरु मेयरको घरतिर लाग्यो । नगरपालिकाबाट करिब १ किलोमिटरको दूरीमा छ । मेयरको घरमा ढुंगामुढा भयो, अगाडि रहेको कारमा पनि आगजनी भयो । प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरी अश्रुग्याससँगै हवाइ फायर गर्‍यो ।

त्यसक्रममा प्रहरीले चलाएको गोली लागेर मेयर कटवालको घरभन्दा करिव ५०० मिटर टाढा एक युवकको मृत्यु भएको छ ।

वडा नम्बर ६ का वडाध्यक्ष मोहमद अफताव आलमका अनुसार जयशंकर प्रदर्शनमा सहभागी थिएनन् । विद्युत् महसुल तिर्न मोटरसाइकल चढेर विद्युत कार्यालय नजिकै पुगेका थिए । त्यही बेला प्रहरीले चलाएको गोली लागेर उनी सडकमै ढले ।

उनको मृत्युपछि प्रदर्शन थप उग्र भयो । प्रदर्शनकारीले नगरपालिको गाडीमा आगजनी गरेका छन् । नगरपालिकाको तीनवटा गाडीमा तोडफोड तथा आगजनी गरेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दिपेन्द्र सिंह थारु बताउँछन् । भीडलाई नियन्त्रणमा लिन प्रहरीले १९ सेल अश्रुग्यास हान्नुका साथै १३ राउण्ड हवाइ फायर गरेको छ ।

डीएसपी सिंहका अनुसार आठजना प्रहरी घाइते भएका छन् । प्रहरी सहायक निरीक्षक भिखारी यादव गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज पठाइएको छ । मृतकको शव भने आन्दोलनकारीकै नियन्त्रणमा छ ।

ढल्यो परिवारको सहारा

आन्दोलनमा मारिएका युवक स्थानीय सर्लाही होटलका सञ्चालक तथा कुखुरा दानाको हलसेल बिक्रेता हुन् । बंगलादेशबाट एमबीबीएस अध्ययन गरेका उनलाई बुबा बंगाली राम साहले आफू बिरामी भएपछि व्यवसाय हेर्न भनेर बोलाएका थिए ।

तीनवर्ष अघि बंगाली रामको निधन भएपछि व्यापार व्यवसाय उनले नै सम्हाल्दै आएका थिए । परिवारको साहारा अनाहकमा मारिएपछि परिवार शोकमा डुबेको छ । आन्दोलनकारीले उनको शव आफ्नै नियन्त्रणमा राखेर प्रदर्शन गरेका छन् ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले भने जयशंकरको के कारणले मृत्यु भयो भन्ने पुष्टि नभएको बताउँछन् । ‘शव हेर्दा गोली लागेर नै मृत्यु भएको जस्तो देखिन्छ’ उनले भने, ‘तर शव अहिलेसम्म उनीहरुकै नियन्त्रणमा छ । त्यसैले उनलाई गोली नै लागेको हो भनेर हामीले पुष्टि गर्ने अवस्था छैन ।’

गोली चलाउन आफूले आदेश नदिएको समेत उनले बताए । के कति कारणले गोली चल्यो भनन्ने अनुसन्धान छानबिन हुने उनले बताए ।अनलाइन खबर ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.