५ जेष्ठ २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रभु साहको चेतावनी: सुकुम्बासी र कवाड व्यवसायीको सुरक्षा नभए काठमाडौं महानगरमा मेरो स्काभेटर चल्छ – Nigrani Today
Uncategorized

प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रभु साहको चेतावनी: सुकुम्बासी र कवाड व्यवसायीको सुरक्षा नभए काठमाडौं महानगरमा मेरो स्काभेटर चल्छ

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले काठमाडौंमा सुकुम्बासी र कवाड व्यवसायीहरुको सुरक्षाको प्रत्याभूति नगराईए काठमाडौं महानगरमा आफ्नो स्काभेटर चलाउने चेतावनी दिएका छन् ।

जनआन्दोलन दिवसको अवसरमा शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित बृहत्त जनप्रदर्शनसहितको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा सांसद समेत रहेका आजपा अध्यक्ष साहले काठमाडौं महानगरका मेयर बालेन शाहलक्षित यस्तो चूनौति दिएका हुन् । बालेनले सुकुम्बासी र कवाड व्यवसायीहरुमाथि धरपकड गरेपछि प्रभु साहको यस्तो आक्रोश पोखिएको हो । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्र्रचण्ड र गृहमन्त्री रवि लामिछानेलाई काठमाडौंमा गरिखाने वर्गलाई सुरक्षा नदिईए आाफूले त्यसको प्रतिकार गर्ने र उत्पन्न परिस्थितिको जिम्मापनि राज्यले नै लिनुपर्ने खुला चूनौति दिए ।

साहले आजबाट तेस्रो जनआन्दोलनको शंखानद भएको पनि घोषणा गरे । ‘जनआन्दोलन दिवस हो । तपाईंहरुलाई साक्षी राखेर हामी सहीदहरुको सपना साकार पार्ने प्रण गर्दछौं । मुलुकमा पहिलो र दोस्रो जनआन्दोलन भैसकेको छ । आज तेस्रो जनआन्दोलनको उदघोष हो । यो लुटकारी दलतन्त्रको खारेजीको लागि तेस्रो जनआन्दोलनको उदघोष हो’ आजपा अध्यक्ष साहले भने, ‘नेपालको समृद्धिको लागि अहिलेको दलीय लुटकारी व्यवस्था अन्त्य गर्नुपर्छ । जनआन्दोलन पार्टी र जनता मिलेर गरिएको थियो । नेताहरुले व्यवस्थामाथि बेइमानी गरे । जनता लाचार र निरीह भए । देशमा पार्टीको सिण्डिकेट भएको छ । जनता लाचार भएर बस्ने लोकतन्त्र हामीलाई चाहिएको छैन् ।’

उनले जनआन्दोलन गर्दा नेपालबाट राजाको शासन हटाएर जनताको शासन हुने भनिएको भएपनि राजसंस्था हट्दापनि देशमा जनताको असली शासन नआएको टिप्पणी गरे । ‘यो देशमा त नेता र पार्टीको लागि मात्रै लोकतन्त्र भयो । आजपनि देश जहाँको त्यहीँ छ, नेपाली जनताको बलमा यो देशमा हरेक नयाँ किर्तीमानी खडा भएको छ’ उनले भने, ‘हामी जनताकै बलामा यो देशलाई नयाँ उचाई दिलाउनेछौं । म भन्न चाहन्छु–आज नेपालमा शासकहरुले जुन ढंगको संस्कृति र माहोल निर्माण गर्दैछन्, जनता निराश छन् । चिन्तित छन् । हामी निराशामा रहेका जनतालाई माथि उकास्न चाहन्छौं ।’

अध्यक्ष साहले आफू नेतृत्वको पार्टी आजपाको स्थापनाको एक वर्षमात्रै व्यतित भएको स्मरण गराए । ‘हाम्रो पार्टी स्थापना भएको एक वर्ष भयो, यो पार्टी अझैपनि शिशु अवस्थामा नै छ । हाम्रो पार्टीले दलतन्त्र र लुटकारी व्यवस्था हटाउने भनेर उदघोष गरेको छ । आन्दोलनको नेतृत्व गरेको छ । यसमा हमलाई गौरवको अनुभुति भएको छ । विदैशिक ठग, भ्रष्टाचारीहरु, भगौडा दलाल वर्ग, लुटकारी कर नीतिको विरुद्धमा हामीले नेतृत्वदायी रुपमा आन्दोलन गरेका छौं’ साहले भने, ‘हामीले किसानको पक्षमा, मदरसा शिक्षा, समान शिक्षाको लागि अनि दलित आवास र रोजगारीको लागि लडेका छौं । किसानको सम्मान र पेन्सनका लागि लड्दै आएका छौं । गौर हत्याकाण्डा पीडितको पक्षमा लडिराखेका छौं । आरती साहको न्यायको लागि अनि दिलिप महतोको न्यायको लागि पनि लडेका छौं । कवाड व्यवसायीहरुको पक्षमा लडेका छौं । आज हामी कवाडीहरुको बीचमा छौं ।’

उनले काठमाडौंमा केही मान्छेले सूर्य पूर्वबाट उदाउँछ भन्ने थाहा हुँदाहुँदैपनि पश्चिमबाट उदाउँछ भनेर भन्ने गरेको उल्लेख गर्दै काठमाडौंमा कवाडीहरुले फोहोर सफा गरेको अवस्थामा उल्टै फोहोर गरेको भनेर यहाँबाट विस्थापित गर्न खोजिएकोमा आक्रोश पोखे ।

‘यो काठमाडौंमा फोहोर गर्नेहरु सम्मानित हुने अनि फोहोर सफा गर्नेहरु सजायको भागिदार हुनुपर्ने हो ? हामी यो दिन उल्टाउनेछौं’ साहले भने, ‘नेपालको पुँजी लुटेर विदेश लैजानेहरु सम्मानित हुने अनि यहाँ केही गरौं भनेर आफ्नै देशका नागरिक काठमाडौं आउँदा लखेट्ने प्रवृत्ति अब हामी रहन दिनेछैनौं । श्रमिकहरुको अपमान हुने अनि श्रम चोर, भ्रष्टाचारी र ठगहरु सम्मानित हुने अवस्था बदल्न चाहन्छौं ।’

पूर्वमन्त्री साहले काठमाडौं आम नेपाली जनताको लागि भएको र त्यसमा पनि इमानदार र बहुादुरहरुको लागि भएको उल्लेख गरे । उनले भने, ‘यो काठमाडौं गरिखानेहरुको लागि हो । आम बहादुरहरुको लागि हो । अनि ऋषिमुनिहरुको हो । भगवान पुशपतिनाथको हो । तर, अहिले काठमाडौं लुटेराहरुको बनाउन खोजिएको छ । दुनियाँलाई कल्याण गर्नेहरु बस्ने काठमाडौंलाई इमानदार मानिस चाहिएको छ । दुनियाँको कल्याण गर्ने नेतृत्व चाहिएको छ । तर, केही दुष्टले काठमाडौंलाई अर्कै बनाउन चाहेका छन् ।’

देशमा गरिबी बढिरहेको भन्दै त्यसको जिम्मेवारी कसले लिने र त्यसको जवाफ कसले दिने ? भन्दै उनले प्रश्न तेर्साए । ‘सुकुम्बासी बनाउने यहाँको शासकहरु होईन ? तिमीहरुको पुर्खाको कुकर्मले यो भएको हो । गरिबी हटाउने होइन गरिब भगाउने भनेर शासकले भनेको छ । हामी भन्छौं गरिबलाई भगाउने होई बरु गरिबी हटाउनुपर्छ’ उनले भने, ‘रोजगारी दिन नसक्नेलाई रोजगारी खोस्ने अधिकार कसले दियो ? काठमाडौंको सफाई गर्नेले अब गलत गर्नेहरुको सफा गर्नुपर्छ । कवाडीहरुले काठमाडौंको सफाई गरिरहेको छ । शहरको सफाको लागि कवाड छ । अब कवाड व्यवसायीहरुले तेरो कुकर्मको फोहोर सफा गर्नेछ ।’

साहले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेको नाम नै लिएर गरिखाने वर्गको सुरक्षा नभए काठमाडौंमा आन्दोलनको आँधीबेहरी आउने चेतावनी दिए । उनले भने, ‘प्रधानमन्त्री म भन्न चाहन्छु–सुकुम्वासीको रक्षा हुन्छ कि हुँदैन् । हुँदैन भने प्रभु साह चुप लागेर बस्दैन् । म गृहमन्त्रीलाई सोध्न चाहन्छु–काठमाडौंमा कवाडीहरुको रक्षा हुन्छ कि हुँदैन् । यदि कवाडीहरुको कारखानामा डोजर चल्छ भने महानगरको कार्यालयमा प्रभु साहको स्काभेटर चल्छ । अब गरिबीहरु मात्रै कानून मानेर बस्दैनन् । देशमा राजतन्त्र हटिसकेको छ । ठूलालाई चैन अनि सानालाई ऐन लाग्ने कुरा हुँदैन् । यो उदघोषसभा हो । यो उपस्थितिले धेरै जवाफ दिईसकेको छ ।’

साहले विगतमा मधेशमा मधेशी र पहाडी जनता भिडाउने शासकहरु अहिले काठमाडौं पसेको र यहाँबाट मधेशी भगाउने काम गर्न खोजेको भन्दै चेतावनी दिए । ‘हिजो मधेशी र पहाडी जनता भिडाउने काम गरे, त्यसको कारण आज मधेश उजाड भयो । आज काठमाडौंबाट मधेशी लखेटेर काठमाडौं उजाड बनाउन खोजिँदैछ, हामी त्यसो हुन दिन्नौं । काठमाडौंको धर्तीलाई समृद्धि गर्न नेपालीहरु एक हुन जरुरी छ’ साहले भने, ‘गरिखानेहरु र नेपालको भलाई चाहनेहरु एक हुन जरुरी छ । काठमाडौंले समृद्धि खोजेको छ । काठमाडौंको यस्तो हालत हेर्दा हामीलाई लाज लागेको छ । प्रकृतिले हामीलाई धेरै सन्ुदर चिज दिएको छ । हामी काठमाडौं सफा गर्न चाहन्छौं । कवाड क्षेत्रमा काम गर्ने सार्थीहरुलाई भन्न चाहन्छु– शासकहरुले व्यवस्थामा फोहोर गरिाखेका छन्, उनीहरुले भ्रष्टाचार र कुसाशन जन्माईरहेका छन् । अब ती शासकहरुको सफा गर्न जरुरी भैसकेको छ ।’

सम्बोधनको क्रममा अध्यक्ष साहले नेपाल विदेशीहरुको क्रिडास्थल बनाईएको भन्दै दलतन्त्रको नाममा राजनीतिक सिण्डिकेट लाद्नेहरुसँग आक्रोशे पोखे । उनले भने, ‘आज देश विदेशीहरुको क्रिडास्थल बनाईएको छ । नेपाली आमा राईरहेकी छिन् । नेताहरुको कुकर्मले देशको बेईज्जत भएको छ । नेपाल दुनियाँलाई ज्ञान दिने देश हो ।’

साहले आज देश भ्रष्टाचार नै भ्रष्टाचारले भरिएको टिप्पणी गरे । ‘जो जहाँ छ, त्यहीँ लुटिरहेको छ । यी ठगहरु (लुघवित्त, बैंक र सहकारीका ठगहरु) लाई कारबाही गर्नुहोस । नत्र कुर्सीमा बस्ने अधिकार छैन् । देश निर्माण गर्नको लागि भित्रैबाट संकल्पित हुनुहोस । काम गरेर खाने मानिस महान हो । बेइमानीहरु जहिल्यैपनि हारेका छन् । न्यायको मार्गमा हिँड्नेहरुले जितेका छन्, हामी जित्छौं’ साहले भने, ‘आज हामी सबै पीडित एक भयौं । यो संयुक्त आन्दोलन हो । यो देशलाई उदाहरण बन्नुहोस । नेपाललाई एक बनाउनुपर्छ । जनताको लागि जनआन्दोलन मरेको छैन् । जनअन्दोलनलाई नयाँ उचाई दिनुपर्छ ।’

भृकुटी मण्डपमा जनसभा हुनुभन्दा अघि आजपाले प्रदर्शन गरेको थियो । दशौं हजार भन्दा बढीको सहभागिता रहेको र्याली भृकुटीमण्डबाट सुरु भई शहिदगेट, सुन्धारा, रत्नपार्कहुदै पुन भृकुटी मण्डपमै आएर सभामा परिणत भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.