
सर्लाही, ९ पुस । सर्लाहीको बागमती नगरपालिका–१२ स्थित कर्मैया चेकपोष्टमा प्रहरीले बिलभर्पाई नभएको २४० किलोग्राम माछा नियन्त्रणमा लिई बुधवार नष्ट गरेको छ ।
इलाका प्रहरी कार्यालय कर्मैया, सर्लाहीबाट प्रहरी बरिष्ठ नायब निरीक्षक पुज्य बी.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले बरहथवाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख ६५९२ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गरेको थियो ।चेकजाँचका क्रममा उक्त बसको डिक्कीमा लुकाई–छिपाई बरफसहित ल्याइँदै गरेको ६ कार्टुन माछा फेला परेको थियो । प्रत्येक कार्टुनमा अन्दाजी ४० किलोग्रामका दरले जम्मा २४० किलोग्राम माछा रहेको र ती माछाको कुनै पनि बिलभर्पाई नभएको पाइएकाले प्रहरीले माछा नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कर्मैयामा राखेको थियो ।
सो क्रममा बसलाई भने आफ्नो गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधवार दिउँसो करिब १५ः२० बजेको समयमा मलंगवा क्वारेन्टाइन कार्यालयका प्रतिनिधि, बागमती नगरपालिकाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा भद्रभलाद्मीहरूको रोहबरमा उक्त माछा नष्ट गरिएको हो ।
नष्ट गरिएका माछाहरूमा ३ कार्टुन बच्चा माछा १२० किलोग्राम (प्रति किलो रु. ३०० का दरले रु. ३६,०००), २ कार्टुन रोहु माछा ८० किलोग्राम (प्रति किलो रु. ६०० का दरले रु. ४८,०००) तथा १ कार्टुन मसिनो माछा ४० किलोग्राम (प्रति किलो रु. ३०० का दरले रु. १२,०००) गरी जम्मा रु. ९६,००० बराबरको माछा बागमती नगरपालिका–११ स्थित बागमती नहरको ढिस्कोमा खाल्डो खनी नष्ट गरिएको प्रहरीले जनाएको छ ।



