हरिपुरमा स्वास्थ्यकर्मीका लागि सञ्चालित मानसिक स्वास्थ्य सम्बन्धी मोड्युल २बी तालिम सम्पन्न

सर्लाहीको हरिपुर नगरपालिकामा स्वास्थ्यकर्मीहरूका लागि सञ्चालित पाँच दिने मानसिक स्वास्थ्य सम्बन्धी विशेष तालिम आज सम्पन्न भएको छ। हरिपुर नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा प्रदेश स्वास्थ्य तालिम केन्द्र पथलैयाको प्राविधिक सहयोगमा सञ्चालित “मोड्युल २बी” तालिम आज एक कार्यक्रमका बीच सफलतापूर्वक सम्पन्न भएको हो।
गत जेष्ठ २१ गतेदेखि प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरको तालिम हलमा सुरु भएको उक्त तालिममा नगरपालिकाका वडा नम्बर १ देखि ९ सम्मका सम्पूर्ण स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको समापनका अवसरमा आज हरिपुर नगरपालिकाकी नगर उप-प्रमुख निलम देवी राय यादवले तालिम अवधिभर सञ्चालन गरिएको प्रि-टेस्ट र पोस्ट-टेस्ट परीक्षामा उत्तीर्ण हुन सफल सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो। सो अवसरमा बोल्दै उप-प्रमुख यादवले मानसिक स्वास्थ्य समस्या पछिल्लो समय समाजमा चुनौतीका रूपमा देखा परेकाले यस तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै नागरिकलाई गुणस्तरीय र आत्मीय सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरूलाई आग्रह गर्नुभयो। उहाँले यस्ता क्षमता अभिवृद्धि कार्यक्रमले स्वास्थ्यकर्मीहरूको दक्षता बढाउनुका साथै नगरबासीको स्वास्थ्य सुरक्षामा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
पाँच दिनसम्म सञ्चालन भएको उक्त तालिममा प्रमुख प्रशिक्षक डाक्टर चन्दन चौधरी तथा सहजकर्ताहरू रुबिन झा र रुपेश साहले मानसिक स्वास्थ्यका विविध समस्या, रोगको प्रारम्भिक पहिचान, मनोसामाजिक परामर्श तथा उपचार व्यवस्थापनका विषयमा प्रशिक्षण दिनुभएको थियो।

तालिम समापनसँगै हरिपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवल किशोर यादवले अब नगरका स्वास्थ्यकर्मीहरू मानसिक स्वास्थ्य सेवा प्रवाहका लागि पूर्ण रूपमा सक्षम भएको र स्थानीय नागरिकले आफ्नै गाउँघरमा विशिष्टीकृत स्वास्थ्य सेवा पाउने वातावरण बनेको जानकारी दिनुभयो।




