१७ असार २०८३, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा : हरिपुर नगरपालिका पूर्णखोपयुक्त स्थानीय तहका रूपमा घोषित – Nigrani Today
ताजा खबरपत्रपत्रिकाप्रदेशमधेश प्रदेशशिक्षा स्वास्थ्यसमाचारसमाजस्थानीय

पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा : हरिपुर नगरपालिका पूर्णखोपयुक्त स्थानीय तहका रूपमा घोषित

हरिपुर नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा सम्पन्न

हरिपुर, सर्लाही,  – १७ असार  –   “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ हरिपुर नगरपालिकाले पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा समारोह सम्पन्न गरेको छ।


हरिपुर नगरपालिका–२ स्थित अक्षर पाठशालाको सभाहलमा आयोजित समारोहमा मधेश प्रदेश स्वास्थ्य खोप निर्देशनालय, प्रादेशिक स्वास्थ्य कार्यालय सर्लाही, हरिपुर नगरपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका कर्मचारी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको सुरुवातमा हरिपुर नगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत महिला स्वास्थ्यकर्मीहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए। उनीहरूको आकर्षक सांस्कृतिक प्रस्तुतिले कार्यक्रममा थप रौनकता प्रदान गरेको थियो।


कार्यक्रमका सभाध्यक्ष तथा हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल पञ्जियारले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा हरिपुर नगरपालिकाका लागि गौरवको विषय भएको बताउनुभयो।  उहाँले बालबालिकाको स्वास्थ्य संरक्षणका लागि नियमित खोप कार्यक्रम अत्यन्त प्रभावकारी रहेको उल्लेख गर्दै यस अभियानलाई सफल बनाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, कर्मचारी तथा अभिभावकले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। नगर प्रमुख पञ्जियारले पूर्णखोप सुनिश्चिततालाई घोषणामा मात्र सीमित नराखी यसको दिगोपनाका लागि नगरपालिका पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँदै स्वास्थ्य क्षेत्रमा आवश्यक स्रोत–साधन व्यवस्थापन तथा गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सम्पूर्ण नगरवासीलाई बधाई तथा शुभकामना पनि व्यक्त गर्नुभयो।


हरिपुर नगरपालिकाकी उप–प्रमुख निलम देवी राय यादवले पूर्णखोप सुनिश्चितता हासिल गर्नु नगरपालिकाको महत्वपूर्ण उपलब्धि भएको बताउँदै यसको दिगोपनाका लागि सबैको निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले नियमित खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नदिन जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, कर्मचारी तथा अभिभावक सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले अभियान सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्णप्रति आभार व्यक्त गर्दै बधाई तथा शुभकामना दिनुभयो।


वडा नम्बर १ का अध्यक्ष नानिबाबु थापा, वडा नम्बर २ का अध्यक्ष निलबिक्रम थापा, वडा नम्बर ७ का अध्यक्ष मनोज कुमार चौधरी तथा वडा नम्बर ९ का अध्यक्ष विश्वनाथ रायले शुभकामना व्यक्त गर्दै पूर्णखोप सुनिश्चितता तथा दिगोपनालाई कायम राख्न स्वास्थ्यकर्मीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँहरूले नियमित खोप सेवामा कुनै पनि बालबालिका नछुट्ने गरी समुदायस्तरसम्म पुगेर सेवा प्रवाह गर्न स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधिबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।


कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश स्वास्थ्य खोप निर्देशनालयका खोप अधिकृत लट्मेश्वर झाले हरिपुर नगरपालिकाले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सफल हुनु उदाहरणीय उपलब्धि भएको बताउनुभयो। उहाँले नियमित खोप कार्यक्रम, प्रभावकारी अनुगमन, अभिलेखीकरण तथा समुदायको सक्रिय सहभागितालाई निरन्तरता दिए मात्र यो उपलब्धि दिगो हुने धारणा राख्नुभयो।


त्यसैगरी प्रादेशिक स्वास्थ्य कार्यालय, सर्लाहीका प्रमुख डा. नवल किशोर झाले खोप बालबालिकाको जीवन रक्षा गर्ने सबैभन्दा सुरक्षित, प्रभावकारी र भरपर्दो माध्यम भएको उल्लेख गर्दै कुनै पनि बालबालिका खोपबाट छुट्न नदिन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो। उहाँले स्वास्थ्यकर्मीहरूको समर्पण र मेहनतको उच्च प्रशंसा गर्दै सम्पूर्णलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।


हरिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जय राम नेपालले पूर्णखोप सुनिश्चितता नगरपालिकाको साझा उपलब्धि भएको उल्लेख गर्दै यसको दिगोपनाका लागि जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने बताउनुभयो। उहाँले आगामी दिनमा पनि गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै नागरिकमैत्री सेवा विस्तार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यसैबीच, हरिपुर नगरपालिकाभित्र कार्यरत विभिन्न शाखाका कर्मचारी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा उत्कृष्ट सेवा प्रदान गरेका स्वास्थ्य संस्थाहरूलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना अभियानमा पुर्‍याएको महत्वपूर्ण योगदानको कदर गर्दै प्रशंसापत्रसहित सम्मान गरिएको थियो।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले पूर्णखोप सुनिश्चितता तथा दिगोपना अभियानलाई दीर्घकालसम्म प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।


कार्यक्रमको सञ्चालन तथा उद्घोषणा हरिपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नागेश्वर रायले गर्नुभएको थियो। उहाँले कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्दै पूर्णखोप सुनिश्चितता अभियानको उद्देश्य र महत्वबारे जानकारी गराउनुभएको हरिपुर नगरपालिकाको स्वास्थ शाखाका प्रमुख नवल किशोर यदवले जानकारी दिनुभएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button