११ मंसिर २०८२, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा जनमत पार्टीद्वारा रंगभेदविरुद्ध प्रदर्शन – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

सर्लाहीमा जनमत पार्टीद्वारा रंगभेदविरुद्ध प्रदर्शन

सर्लाही,१० मंसिर । सर्लाहीमा जनमत पार्टीले रंगभेद तथा जातीय विभेदविरुद्ध प्रदर्शन गरेको छ । बुधवार जनमत पार्टी सर्लाहीको आयोजनामा रंगभेदविरुद्ध एकता दिवस मनाउँदै सदरमुकाम मलंगवामा प्रदर्शन तथा विरोध ¥याली गरिएको हो । मलंगवा बजारका विभिन्न भाग परिक्रमा गर्दै निकालिएको ¥यालीमा जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । प्रदर्शनका क्रममा सहभागीहरूले “धोती भैया भनेर हेप्न पाइँदैन”,“नश्लवादी राज्य चाहिँदैन”,
“मधेशी एकता जिन्दावाद”,“रंगको आधारमा विभेद गर्न पाइँदैन”,“जनमत पार्टी जिन्दावाद”,“डा. सिके राउत जिन्दावाद”लगायतका नाराहरू लगाउँदै विभेदविरुद्ध आफ्नो विरोध प्रकट गरेका थिए ।

जनमत पार्टी सर्लाहीका जिल्ला इन्चार्ज श्रीचन (सुजन) यादवका अनुसार समाजमा अझै पनि रंग, जात र पहिचानको आधारमा गरिने विभेद अन्त्य गर्न जनचेतना फैलाउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो । उनले भने, “मधेशी समुदायमाथि गरिने हेपाइ, अपमान र विभेद आज पनि विभिन्न रूपबाट कायमै छन् । त्यसविरुद्ध सबै एकजुट भएर आवाज उठाउनु आजको आवश्यकता हो ।”

प्रदर्शन कार्यक्रममा जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य सञ्जय कुमार सिंह, केन्द्रीय सदस्य राकेश कुमार मिश्र लगायत जिल्लाभरिका नेता तथा कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको थियो । नेताहरूले आफ्ना सम्बोधनमा रंग, जात र समुदायको आधारमा गरिने कुनै पनि प्रकारको विभेद लोकतान्त्रिक मूल्य र मानव अधिकारविरुद्ध रहेको बताए ।

केन्द्रीय कार्यकारिणी सदस्य सञ्जय कुमार सिंहले भने, “नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । यहाँ सबै नागरिक समान हुन् । तर व्यवहारमा अझै रंगभेद र नश्लीय विभेद विद्यमान छ । जनमत पार्टी यस्तो विभेदविरुद्ध निरन्तर लडिरहनेछ ।”

त्यसैगरी केन्द्रीय सदस्य राकेश कुमार मिश्रले मधेशी समुदायमाथि गरिने अपमानजनक शब्द प्रयोग, सामाजिक बहिष्कार र राज्यका निकायबाट हुने विभेदप्रति गम्भीर ध्यानाकर्षण गराउँदै अब मधेशी जनता सचेत र संगठित भएर आफ्नो अधिकारका लागि संघर्ष गर्नुपर्ने समय आएको बताए ।

प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनमत पार्टी सर्लाहीले जनाएको छ । जनमत पार्टीका अनुसार आगामी दिनहरूमा समेत रंगभेद तथा सबै प्रकारका सामाजिक विभेदविरुद्ध जनचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button