बोली र व्यवहार फरक गरिँदा नागरिकमा वितृष्णा छ : मन्त्री लेखी

लालबन्दी, २२ चैत – मधेश सरकारका गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखीले नेतृत्व तहमा बोली र व्यवहार फरक हुँदा नागरिकमा वितृष्णा बढेको बताएका छन् ।
आफ्नो मन्त्रालयले शुक्रबार लालबन्दीमा आयोजना गरेको स्थानीय तहको कानुन तर्जुमा सम्वन्धी २ दिने अन्तरक्रियालाई सम्वोधन गर्दै मन्त्री लेखीले नेतृत्व तहबाट एउटा कुरा बोल्ने र व्यवहारमा अर्कै देखाउने तथा सरकारी निकायमा सेवा लिन जाँदा ढिलासुस्ती हुँदा नागरिकमा वितृष्णा सिर्जना भएको मन्त्री लेखीले बताएका हुन् । मन्चबाट बढी आश्वासन दिने तर काम नगर्ने परिपाटी देखिँदा नागरिकले असन्तुुष्टी व्यक्त गरेका प्रदेश सरकारका गृहमन्त्री लेखीको भनाई छ ।
जिल्ला प्रशासन, प्रहरी, मालपोतलगायतका कार्यालयमा नागरिक चार/पाँच घण्टा लाइनमा बसेर काम नहुने परिपाटी ठूलो समस्याको रुपमा रहेको र यही अवस्थाले गर्दा नै नागरिकमा अहिलेको व्यवस्थाप्रति विकर्षण पैदा भएको उनको भनाई छ । उनले नागरिकलाई सहज हुने किसिमले ऐन, कानून निर्माण गर्नुपर्ने जोड समेत दिए ।
फरक प्रशंगमा मन्त्री लेखीले लोकतन्त्र, गणतन्त्र, संघीयता र समावेशिता ल्याउन पत्रकारको पनि महत्वपूर्ण भूमिका रहेको भन्दै प्रशंसा गरेका छन् । बिहीबार र शुक्रबार २ दिन आयोजित स्थानीय तहको कानुन तर्जुमा सम्वन्धी अन्तरक्रिया कार्यक्रममा सर्लाहीको २० वटै पालिकाबाट जनप्रतिनिधि र कर्मचारी सहभागी भएका छन् ।