बिजुली, पानीको भुक्तानीको लागि मौलापुरको स्थानीय आंदोलित

रौतहट, १३ वैशाख ।रौतहटको मौलापुर नगरपालिकाले बर्षौदेखी दिदै आएको बिजुली-पानीको भुक्तानी एवं छोरीको बिवाहमा गर्ने सहयोगलाई निरन्तरता दिनुपर्ने माग गर्दै स्थानीयले आन्दोलनको घोषणा गरेको छ ।
बिजुली, पानी तथा विवाहको बाँकी भुक्तानी तुरुन्त उपलब्ध गराउनुपर्ने माग गर्दै गठन भएको संघर्ष समितिले पत्रकार सम्मेलन गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
संघर्ष समितिका संयोजक भोला पाण्डेले मौलापुर नगरपालिकाले बर्षौदेखी उपलब्ध गराउदै आएको आधारभुत एवं सामाजिक सेवा सहयोगको रकम तुरुन्त निकासा गर्नुपर्ने माग सहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
पाण्डेका अनुसार वैशाख १३ गतेदेखि टोल टोलमा अन्तरक्रिया तथा हस्ताक्षर संकलन गर्ने, वैशाख– १५ गते प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन–पत्र बुझाउने, वैशाख २१ गते नगरपालिकामा विरोध प्रदर्शन गर्ने, र जेष्ठ ४ गतेदेखि नगरपालिकामा तालाबन्दी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
नगरपालिकाका विभिन्न वडामा गठित संघर्ष समितिले पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै समयमै नगरपालिकाले माग सुनुवाई नगरे थप आन्दोलनका कार्यक्रम पनि ल्याउँने चेतावनी दिएका छन् । नगरपालिकाले नागरिकको दैनिकि जीवनसँग प्रत्यक्ष जोडिएका सेवा समयमै उपलब्ध गराउदै आएको तर पछिल्लो समय नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि नगरबासीले पाउँदै आएका सेवा रोक्ने षडयन्त्रमा लागेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) नेतृत्वको संघीय सरकारले पठाएको प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरे विभिन्न बहाना बनाउदै बर्षौदेखी नगरबासीले पाउँदै आएको सेवा रोक्ने र नगरपालिकाको लोकप्रिय कार्यक्रमलाई हटाउने षडयन्त्रमा लागेको गुनासो स्थानीयले गरेका छन् ।
मौलापुरका मेयर रिनाकुमारी साहले नगरपालिकामा बिजुली, पानी, निशुल्क रहेको र अन्य सेवा निशुल्क रहेको बताइन । बर्षौदेखी उपलब्ध गराउदै आएको सेवाहरुलाई आफूहरुले निरन्तरता दिन खोजेको भए पनि त्यसको भुक्तानीमा प्रमुख प्रशासकीय अधिकृतले रोक्ने गरेकाले समस्या आएको उनले बताइन् ।
‘माथिको आदेश भन्दै मौलापुरमा भाँडभैलो गर्न खोजिएको छ । नगरबासीले पाउँदै आएको सेवा, सुविधा षडयन्त्र गरेर रोक्ने, बदनाम गर्ने काम माथि बसेर कसले दिएको हो ? संविधान र कानून अनुसार स्थानीय सरकारको लोकप्रिय कार्यक्रमलाई रोक्ने अधिकार माथि बस्ने प्रधानमन्त्रीलाई पनि छैन् । तर यहाँ विभिन्न बहाना एवं षडयन्त्र गरेर नागरिकले पाउँदै आएको सेवा, सुविधा नै खोस्ने काम हामीलाई स्वीकार्य छैन,’ मेयर साहले भनिन् ।
यसको निकास छिटै हुने विश्वास उनले व्यक्त गरेकी छन् । मौलापुर नगरपालिका देशैभरी आफ्ना लोकप्रिय कार्यक्रमका कारण चर्चित रहेको छ । यहाँको लोकप्रिय एवं राम्रा कार्यक्रम अन्य पालिकाले समेत अनुशरण गर्दै अगाडी बढदै गर्दा ति कार्यक्रमलाई संविधान अनुसार कसैले रोक्न नसक्ने उनले बताइन् ।



