१८ बैशाख २०८३, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ईश्वरपुर नगर अस्पतालमा निःशुल्क डायलाइसिस सेवा सुरु – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

ईश्वरपुर नगर अस्पतालमा निःशुल्क डायलाइसिस सेवा सुरु

सर्लाही — ईश्वरपुर नगरपालिकाको नगर अस्पतालमा मृगौला (किड्नी) रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर तथा डायलाइसिस सेवा औपचारिक रूपमा सुरु गरिएको छ। शुक्रबार ईश्वरपुर नगरपालिका द्वारा आयोजित  कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्य मन्त्री जङ्गीलाल रायले उक्त सेवाको उद्घाटन गर्नुभयो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री रायले डायलाइसिस सेवा प्रभावकारी र भरपर्दो रूपमा सञ्चालन गर्न प्रादेशिक अस्पतालको विशेषज्ञ टोली ईश्वरपुर पठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नगर अस्पतालको स्तरोन्नतिका लागि “लाखौं होइन, करोडौं रुपैयाँ” बजेट विनियोजन गर्ने बताउँदै स्वास्थ्य क्षेत्रमा ठोस लगानी गर्ने धारणा राख्नुभयो। ग्रामीण तथा नगर क्षेत्रका नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउनु आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै उहाँले मृगौला रोगजस्तो गम्भीर समस्याको उपचार स्थानीय स्तरमै सम्भव हुनु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। यसले बिरामीहरूलाई ठूला शहर धाउनुपर्ने बाध्यता अन्त्य गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।

उक्त अवसरमा मन्त्री रायले देशमा भ्रष्टाचारको अवस्था प्रति टिप्पणी गर्दै “नेताभन्दा कर्मचारीमा भ्रष्टाचार बढी देखिएको” दाबी समेत गर्नुभयो ।

कार्यक्रममा ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज आचार्य ले आफू निर्वाचित भएदेखि नै नगरवासीसँग गरेका प्रतिबद्धताहरू स्मरण गर्नुभयो। उहाँले पाठेघर रोगको उपचार तथा अपरेशन, आँखाको अपरेशन र किड्नी रोगीका लागि निःशुल्क डायलाइसिस सेवा सुरु नगरेसम्म मेयरको कुर्सीमा नबस्ने वाचा गरेको उल्लेख गर्दै “आज त्यो वाचा पूरा भएको छ, अब म मेयरको कुर्सीमा बस्ने लायक भएको छु” भन्नुभयो।

नगर प्रमुख आचार्यले ईश्वरपुरका हरेक वडाबाट किड्नी रोगीहरूलाई एम्बुलेन्समार्फत अस्पतालसम्म ल्याउन आग्रह गर्दै सम्पूर्ण सेवा सुविधा नगरपालिकाले उपलब्ध गराउने जानकारी दिनुभयो। उहाँले नगरवासीको स्वास्थ्यलाई केन्द्रमा राखेर आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभयो। डायलाइसिस सेवा सुरु भएसँगै बिरामीहरूलाई आर्थिक भारबाट राहत मिल्ने र उपचार सहज हुने उहाँको भनाइ थियो।

स्थानीय बासिन्दाले नगरमै यस्तो सेवा सुरु भएकोमा खुसी व्यक्त गरेका छन्। स्थानीय नाथुराम चौधरीका अनुसार यसअघि डायलाइसिसका लागि काठमाडौं वा अन्य ठूला शहर जानुपर्दा समय, पैसा र श्रमको ठूलो खर्च हुने गरेको थियो। “अब आफ्नै ठाउँमा सेवा पाउँदा धेरै राहत भएको छ,” उहाँले भन्नुभयो। चौधरीले नगर प्रमुखले स्वास्थ्य क्षेत्रमा गरेको पहललाई उदाहरणीय कार्यको रूपमा मूल्याङ्कन गर्नुभयो।

कार्यक्रममा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्थानीयवासी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। यो सेवा सुरु भएसँगै ईश्वरपुर नगरपालिकाले स्थानीय तहबाटै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने दिशामा महत्वपूर्ण फड्को मारेको विश्वास गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button