वटसावित्री पर्व सर्लाहीसहित तराई–मधेशमा श्रद्धापूर्वक मनाइयो

सर्लाहीसहित तराई–मधेशका विभिन्न जिल्लामा आज विवाहित मिथिलानी महिलाहरूले श्रद्धा र उत्साहका साथ ‘बर्साइत’ अर्थात् वटसावित्री पर्व मनाएका छन् । पति दीर्घायु तथा अटल सौभाग्यको कामना गर्दै मनाइने यो पर्व मिथिला संस्कृतिको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा लिइन्छ ।
जेठ औँसीका दिन मनाइने यस पर्वका अवसरमा महिलाहरू बिहानैदेखि निराहार व्रत बसेर नजिकै रहेका वटवृक्ष (बरको रुख) मुनि सामूहिक पूजा आराधनामा सहभागी भएका थिए । नयाँ लुगा र पारम्परिक गहनामा सजिएका महिलाहरूले सती सावित्रीको आदर्श जीवनसँग सम्बन्धित गीत गाउँदै वटसावित्री कथा सुनेका थिए ।
पौराणिक विश्वासअनुसार सती सावित्रीले आफ्नो तपस्या र अटल निष्ठाले पति सत्यवानलाई पुनर्जीवन दिलाएकी थिइन् । सोही विश्वासका आधारमा विवाहित महिलाहरूले परिवारको सुख, शान्ति र वैवाहिक जीवनको दीर्घताको कामना गर्दै यो व्रत बस्ने परम्परा रहिआएको छ ।

ईश्वरपुर, लालबन्दी, चन्द्रनगर, हरिवन, मलंगवा, बरहथवा लगायतका क्षेत्रमा आज वटवृक्ष आसपास बिहानैदेखि महिलाहरूको चहलपहल देखिएको थियो । सामूहिक रूपमा पूजा, भजनकिर्तन तथा भेटघाट हुँदा पर्वले सामाजिक सद्भाव र आपसी सम्बन्धलाई समेत बलियो बनाएको स्थानीयवासीले बताएका छन् ।
पहिले केही समुदायमा सीमित रहेको यो पर्व पछिल्ला वर्षहरूमा विभिन्न जातजाति र समुदायले समेत मनाउन थालेका छन् । स्थानीय जानकारहरूका अनुसार यसले मिथिला संस्कृतिको संरक्षणसँगै सामाजिक एकता प्रवद्र्धन गर्न सहयोग पुगेको छ ।



