८ पुष २०८२, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीको चुरे क्षेत्रमा अवैध गाँजा खेती फडानी, १६ हजार ५ सय बोट नष्ट – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

सर्लाहीको चुरे क्षेत्रमा अवैध गाँजा खेती फडानी, १६ हजार ५ सय बोट नष्ट

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ अन्तर्गत चुरे क्षेत्रका विभिन्न स्थानमा लगाइएको अवैध गाँजा खेती नष्ट गरिएको छ । मंगलवार बिहान करिब ११ः३० बजेको समयमा पिपल दमार, छड्के दमारलगायत आसपासका क्षेत्रमा अवैध रूपमा लगाइएको गाँजा फडानी गरिएको हो ।

तालुक इलाका प्रहरी कार्यालय केशरगञ्जबाट प्रहरी निरीक्षक नितेश कुमार सिंहको कमाण्डमा ४८ जनाको प्रहरी टोली खटिएर फडानी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ । फडानी गरिएको स्थान अस्थायी प्रहरी पोस्ट कालिन्जोर घारीबथानबाट करिब २४ किलोमिटर उत्तरतर्फ चुरे क्षेत्रमा पर्ने बताइएको छ ।

प्रहरी टोलीले पिपल दमारको माथिल्लो एरियाबाट गाँजा फडानी सुरु गरी साँझ करिब ५ः०० बजेसम्म सञ्चालन गरेको थियो । सो क्रममा करिब ३ बिघा क्षेत्रफलमा लगाइएको अनुमानित १६ हजार ५ सय गाँजाका बोट फडानी तथा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

फडानी कार्य सम्पन्न गरेपछि प्रहरी टोली सुरक्षित रूपमा कार्यालय फिर्ता भएको जानकारी दिइएको छ । अवैध लागुऔषध नियन्त्रणका लागि चुरे क्षेत्रमा निगरानी र यस्ता अभियानलाई निरन्तरता दिइने प्रहरीको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button