८ पुष २०८२, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा आगलागीबाट जलेको उखु चिनी उद्योगले खरिद गर्ने – Nigrani Today
ताजा खबर

सर्लाहीमा आगलागीबाट जलेको उखु चिनी उद्योगले खरिद गर्ने

सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु चिनी उद्योगहरूले खरिद गर्ने भएका छन् । मङ्गलबार साँझ जिल्ला प्रशासन कार्यालय सर्लाहीमा प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको अध्यक्षतामा सम्पन्न बैठकले जलेको उखु तत्काल खरिद गर्ने सहमति गरेको हो ।

बैठकमा इन्दुशङ्कर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदहले आगलागीबाट जलेको उखु ल्याब परीक्षण गरी त्यसमा रहेको रसको मात्राअनुसार खरिद गर्न तयार भएको जानकारी गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवले दिनुभयो । उहाँका अनुसार परीक्षणपछि मात्रै किसानलाई दिने मूल्य टुंगो लाग्नेछ ।

इन्दुशङ्कर चिनी उद्योग हरिवनका प्रशासकीय प्रमुख ठाकुर नेपालले जलेको उखुको गुणस्तर परीक्षण गरेपछि मूल्य निर्धारण गरिने स्पष्ट पार्नुभयो । चिनी उद्योगमा बिक्रीका लागि तयारी अवस्थामा रहेको उखु गत सोमबार आगलागीबाट जलेपछि रोहुवाका किसान चिन्तित बनेका थिए । पीडित किसानहरूले जलेको उखु बिक्री गर्ने वातावरण मिलाइदिन र राहतको व्यवस्था गर्न माग गर्दै आएका थिए ।

अब चिनी उद्योगले उखु खरिद गर्ने भएपछि किसानहरू खुसी भएका छन् । व्यावसायिक रूपमा उखु खेती हुँदै आएको रोहुवा गाउँमा सुरुमा करिब ५० बिघा क्षेत्रफलको उखु जलेको अनुमान गरिएको भए पनि पछिल्लो सर्वेक्षणमा करिब २५ बिघा उखुमा क्षति पुगेको पाइएको नगरप्रमुख यादवले बताउनुभयो । भोलि प्रहरीसहित थप एकिन विवरण संकलन गरी सम्बन्धित निकायमा क्षतिको प्रतिवेदन पठाउने सहमति समेत भएको उहाँले जानकारी दिनुभयो ।

यसअघि मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगलागी भएको उखु खेतीको स्थलगत निरीक्षण गर्दै नेपाल सरकारले निर्धारण गरेको मूल्यमा चिनी उद्योगले उखु खरिद गर्ने र बाँकी पर्ने रकम प्रदेश सरकारले उपलब्ध गराउने आश्वासन दिनुभएको थियो ।

पीडित किसानहरूको गुनासो कृषि तथा पशुपन्छी विकास मन्त्रालयसम्म पुगेपछि कृषि विभागको टोलीले पनि रोहुवामा आगलागी भएको उखु खेतीको अनुगमन गरेको थियो । उक्त टोली मङ्गलबार मात्रै काठमाडौं फर्किएको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी कडरियाले हरिवन र बगदहस्थित दुवै चिनी उद्योगका प्रतिनिधिलाई बोलाएर उखुमा रहेको रसको मात्राअनुसार खरिद गर्न आग्रह गरेपछि उद्योगहरू सकारात्मक बनेको बताउनुभयो । मङ्गलबारको छलफलमा सुरक्षा निकायका प्रमुख, गोडैता नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी, दुवै चिनी उद्योगका प्रतिनिधि, अगुवा उखु किसान र पीडित किसानहरूको सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button