कौडेना गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न

सर्लाही । सर्लाही जिल्लाको कौडेना गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमा चालू आर्थिक वर्षमा हालसम्म भएका गतिविधि तथा विकास कार्यसम्बन्धी प्रगति प्रतिवेदन सार्वजनिक गरिएको छ।अधिवेशनमार्फत चालू आर्थिक वर्षका लागि विनियोजन गरिएको कुल बजेटमध्ये हालसम्म पुँजीगत र चालू तर्फ भएको खर्च विवरण प्रस्तुत गरिएको हो।
शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार क्षेत्रको विकाससँगै नीति निर्माण, योजना संशोधन र कार्यान्वयनमा गाउँपालिका केन्द्रित रहेको गाउँपालिका अध्यक्ष रुपेश कुमार (बब्लु) ले जानकारी दिनुभयो।अध्यक्ष कुमारले शिक्षा र स्वास्थ्य क्षेत्रका साथै भौतिक पूर्वाधार निर्माणका कार्यहरूले निरन्तरता पाएको उल्लेख गर्दै निर्वाचनका बेला जनतासँग गरिएका प्रतिबद्धता क्रमशः मूर्त रूप लिँदै गएको बताउनुभयो।
उहाँले कौडेना गाउँपालिकालाई समृद्ध र नमुना पालिका बनाउने लक्ष्यमा सबैको सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।गाउँपालिकाको सभाहलमा सम्पन्न अधिवेशनमा वडा नं. १ देखि ७ सम्मका जनप्रतिनिधि, पालिकाका सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश दासले स्वागत मन्तव्य राख्नुभएको थियो भने लेखा अधिकृत हरिनारायण साहले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।


