सर्लाहीमा शीतलहरको कहर : सर्वसाधारणलाई घरबाट निस्किन मुस्किल

सर्लाही । पुस महिनाको पहिलो सातादेखि नै सर्लाही सहित सम्पूर्ण मधेस प्रदेशमा बाक्लो हुस्सु, कुहिरो र शीतलहरले जनजीवन गम्भीर रूपमा प्रभावित बनेको छ । लगातार बढ्दो चिसोका कारण सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ भने यातायात, मजदुरी, व्यापार–व्यवसाय तथा स्वास्थ्य क्षेत्रमा समेत प्रत्यक्ष असर देखिएको छ ।
बिहानैदेखि आकाश पूरै ढाकिने गरी लागेको बाक्लो हुस्सुका कारण दृश्यता अत्यन्तै कम हुँदा मानिसहरू घरबाट बाहिर निस्कनसमेत सकिरहेका छैनन् । सडक, खेतबारी र खुला स्थानहरू कुहिरोले ढाकिँदा जनजीवन लगभग ठप्पजस्तै बनेको स्थानीयको भनाइ छ । दिनभर घाम नलाग्दा चिसो झनै बढेको छ, जसका कारण सर्वसाधारण आगो बालेर, न्यानो कपडामा बेरिएर दिन कटाउन बाध्य भएका छन् ।
शीतलहरको सबैभन्दा बढी असर वृद्ध–वृद्धा, बालबालिका, गर्भवती महिला तथा दीर्घरोगीहरूमा परेको छ । चिसो सहन नसक्दा धेरैजसो मानिस घरभित्रै सीमित भएका छन् । सर्लाहीका चन्द्रनगर गाउँपालिका, हरिपुर, ईश्वरपुर, लालबन्दी, बरहथवा लगायतका पालिकामा बिहानैदेखि अत्यधिक चिसो हुने गरेको स्थानीय बताउँछन् । “चिसोका कारण मजदुरी गर्न जान निकै समस्या भएको छ, बिहानैबाट यति धेरै चिसो हुन्छ कि काममा निस्कन सकिँदैन, काम नगर्दा घरखर्च चलाउनै गाह्रो हुने अवस्था आएको छ,” स्थानीय मजदुरको गुनासो छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीका विभिन्न खण्डमा बाक्लो कुहिरोका कारण सवारी आवागमनसमेत प्रभावित बनेको छ । दृश्यता अत्यन्तै कम हुँदा सवारी साधनहरू बत्ती बालेर, बिस्तारै चल्न बाध्य भएका छन् । कुहिरोका कारण दुर्घटनाको जोखिम बढेको भन्दै चालकहरू समेत चिन्तित देखिन्छन् । लामो दूरीका सवारी साधनहरू ढिलो सञ्चालन हुँदा यात्रुहरूलाई समेत सास्ती भएको छ ।
शीतलहर र बाक्लो हुस्सुले विशेष गरी दैनिक ज्यालादारी गरेर गुजारा चलाउने निम्न आय वर्गका नागरिकको जीवन झनै कठिन बनेको छ । निर्माण कार्य, खेतबारीको काम तथा अन्य खुला स्थानमा गरिने मजदुरी प्रभावित हुँदा उनीहरूको आम्दानी प्रत्यक्ष रूपमा घटेको छ । चिसोका कारण काममा जान नसक्दा जीविकोपार्जनमै संकट उत्पन्न भएको उनीहरूको भनाइ छ ।
यता अत्यधिक चिसोको प्रत्यक्ष असर सर्वसाधारणको स्वास्थ्यमा देखिन थालेपछि स्वास्थ्यकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् । सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा जाडोका कारण उत्पन्न हुने मौसमी रोगका बिरामीहरूको संख्या दिनदिनै बढ्दै गएको स्वास्थ्यकर्मीहरूको भनाइ छ । पछिल्ला दिनमा रुघाखोकी, ज्वरो, फ्लु, दम, निमोनिया, नाक–कान–घाँटीसम्बन्धी समस्या, श्वासप्रश्वास सम्बन्धी रोग तथा उच्च रक्तचापका बिरामीहरू उल्लेख्य रूपमा बढेका छन् । विशेष गरी बालबालिका, वृद्ध–वृद्धा र दीर्घरोगीहरू जाडोका कारण बढी प्रभावित भएको देखिएको छ ।
स्वास्थ्यकर्मीहरूले चिसोबाट बच्न न्यानो कपडा लगाउन, बिहान–बेलुका चिसो समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन, बालबालिका र वृद्ध–वृद्धाको विशेष ख्याल राख्न तथा आगो र ताप साधन प्रयोग गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । साथै, रुघाखोकी, ज्वरो, श्वासप्रश्वासमा समस्या देखिएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाव दिएका छन् ।
यता सरोकारवाला निकायहरूले समेत शीतलहरको जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन् । तराइका जिल्लामा शुक्रबार केहीबेर घाम लागे पनि शनिबारदेखि पुनः चिसो बढ्दै गएको र दिनभर शीत परिरहँदा जनजीवन अझै प्रभावित हुने देखिएको छ । मौसम अझै केही दिन यस्तै रहने सम्भावना रहेको बताइएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन् ।
शीतलहरको प्रभाव अझै कायम रहेकाले सर्लाहीका सर्वसाधारण अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कने अवस्थामा पुगेका छन् । चिसोको यो कहर कहिलेसम्म जारी रहने हो भन्ने चिन्ताले जिल्लावासीलाई थप पिरोल्न थालेको छ ।



