भ्रम फैलाउने राजनीति होइन, सत्य र परिवर्तनको पक्षमा उभिनुपर्छ : आरती लामा

सर्लाही। नेपाली कम्युनिष्ट पार्टीकी नेतृ आरती लामाले आगामी निर्वाचनको सन्दर्भमा जनतामाझ भ्रम फैलाउने प्रयास भइरहेको भन्दै त्यसलाई तथ्यका आधारमा खण्डन गर्दै अघि बढ्नुपर्ने बताएकी छन्।
सर्लाहीमा आयोजित कार्यक्रममा बोल्दै लामाले क्रान्तिकारी इतिहासको उदाहरण प्रस्तुत गर्दै चे ग्वेभाराको जीवनयात्रालाई स्मरण गरिन्। “चे ग्वेभारा अर्जेन्टिनामा जन्मिएर क्युबामा क्रान्ति गरेर बोलिभियामा बलिदान भए। त्यो इतिहास हामीले पढेका छौँ, बुझेका छौँ,” उनले भनिन्।
लामाले त्यसै सन्दर्भमा नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको राजनीतिक जीवन देश, समाज र परिवर्तनका लागि समर्पित रहेको उल्लेख गरिन्। “उहाँ गोरखामा जन्मिए पनि देशका हरेक कुनामा पुगेर योगदान दिनुभएको छ। आज उहाँ सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ मा आइपुग्नुभएको छ,” उनले भनिन्।
उनले गौतम बुद्धको भनाइ ‘अप्पदीपो भव’ उद्धृत गर्दै नागरिकले अरूको कुरा मात्रै होइन, आफैँ बुझेर, विश्लेषण गरेर निर्णय गर्नुपर्ने बताइन्।
लामाले नेकपाले परिवर्तनको प्रवाहलाई बुझ्ने र नेतृत्व गर्ने पार्टी भएको दाबी गर्दै भदाै २३–२४ को जनआन्दोलनलाई आत्मसात गरेर अघि बढाउनमा नेतृत्वको भूमिका रहेको उल्लेख गरिन्।
युवाको विषयमा बोल्दै उनले पार्टीले ४० वर्षमुनिका युवालाई नेतृत्वमा ल्याएको र विभिन्न क्षेत्रमा युवा उम्मेदवार अघि सारेको बताइन्। “कमरेड नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा उहाँको सचिवालयमा रहेका विजय गौतम आज मकवानपुरबाट उम्मेदवार हुनुहुन्छ,” उनले उदाहरण दिइन्।
लामाले जातीय तथा क्षेत्रीय भावनामा खेल्ने प्रयासलाई ‘गलत सेंटिमेन्ट’ भन्दै त्यसबाट सचेत रहन आग्रह गरिन्। मधेशलाई भोट बैंकको रूपमा प्रयोग गर्ने र सामाजिक सञ्जालमा गालीगलौज तथा अपमानलाई राजनीतिक हतियार बनाउने प्रवृत्तिको पनि उनले आलोचना गरिन्।
उनले सभ्य, संस्कारयुक्त र सबैलाई सम्मान गर्ने राजनीतिक संस्कृतिको पक्षमा पार्टी रहेको उल्लेख गर्दै युवालाई तथ्य, विचार र सिद्धान्त बोकेर जनतामाझ जान आग्रह गरिन्।



