२८ असार २०८३, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
आज र भोलि भारी वर्षाको सम्भावना, जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह – Nigrani Today
ताजा खबरबाढी/पहिरोसमाचार

आज र भोलि भारी वर्षाको सम्भावना, जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाण्डौ – देशभर मनसुन सक्रिय रहेकाले आज र भोलि विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको भन्दै सम्बन्धित निकायले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका अधिकांश स्थान, साथै लुम्बिनी र सुदूरपश्चिमका केही क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।

मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक/दुई स्थानमा आरीघोप्टे तथा मुसलधारे वर्षा हुन सक्ने भएकाले ती क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

आज राति पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेग तथा मधेससहित ती प्रदेशका तराईका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। साथै ती प्रदेशका पहाडी क्षेत्रका एक/दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्र तथा तराई–मधेसका जिल्लामा बाढी, पहिरो, डुबान र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले नदी–खोलाको आसपास नजान, आवश्यक बाहेकको यात्रा नगर्न तथा यात्रा गर्नुपरे सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button