२८ असार २०८३, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
शिक्षा र मानवसेवामा सक्रिय कांग्रेस नेतृ शर्मिला थापा, विपन्न विद्यार्थीदेखि असहाय परिवारसम्म निरन्तर सहयोग – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

शिक्षा र मानवसेवामा सक्रिय कांग्रेस नेतृ शर्मिला थापा, विपन्न विद्यार्थीदेखि असहाय परिवारसम्म निरन्तर सहयोग

सर्लाही ।   नेपाली कांग्रेसकी युवा नेतृ तथा मधेस प्रदेश कार्य समिति सदस्य शर्मिला थापाले शिक्षा, मानव सेवा र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै सर्लाहीमा निरन्तर समाजसेवामूलक कार्य गरिरहेकी छन्। विशेषगरी विपन्न, जेहेन्दार तथा अभिभावकविहीन बालबालिकालाई सहयोग गर्दै उनले समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेकी छन्।

यसैक्रममा थापाले सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ स्थित आधारभूत विद्यालय उरालो, रतनपुरका विपन्न तथा जेहेन्दार छात्र–छात्रालाई विद्यालय झोला (स्कुल ब्याग) र चप्पल वितरण गरेकी छन्। करिब १५ दिनअघि आयोजित कार्यक्रममा विद्यालयका करिब १५० जना विद्यार्थीलाई स्कुल ब्याग र चप्पल उपलब्ध गराइएको थियो।

विद्यालय निरीक्षणका क्रममा धेरै विद्यार्थी नाङ्गो खुट्टामा विद्यालय आएको देखेपछि उनी भावुक बनेकी थिइन्। त्यसपछि आफ्नै पहल र व्यक्तिगत स्रोतबाट विद्यार्थीहरूलाई चप्पल र स्कुल ब्याग वितरण गर्ने निर्णय गरेको उनले बताइन्। उनले चन्द्रनगर गाउँपालिकाका मदरसा तथा अन्य विद्यालयहरूमा समेत स्कुल ब्याग र विभिन्न शैक्षिक सामग्री वितरण गर्दै शिक्षाप्रति बालबालिकाको आकर्षण बढाउने प्रयास गरिरहेकी छन्।

थापाले आफ्नो सहयोगलाई सामग्री वितरणमा मात्र सीमित नराखी अभिभावकविहीन बालबालिकाको भविष्य निर्माणतर्फ पनि महत्वपूर्ण कदम चालेकी छन्। मिजार परिवारका पाँच दाजुभाइ–दिदीबहिनीमध्ये ५ वर्षीय सन्दीप मिजारलाई कक्षा १ देखि १० सम्मको सम्पूर्ण अध्ययन खर्च आफ्नै व्यक्तिगत खर्चमा व्यहोर्ने घोषणा उनले गरेकी छन्।

सन्दीपका बुवा जेलमा रहेका र आमा बेपत्ता भएपछि पाँचै जना दाजुभाइ–दिदीबहिनी वृद्ध हजुरआमाको सहारामा कठिन जीवन बिताइरहेका छन्। उनीहरूको पीडादायी अवस्था सार्वजनिक भएपछि थापाले त्यसलाई केवल दुःखद घटनाका रूपमा नहेरी आफ्नो सामाजिक जिम्मेवारीका रूपमा लिँदै सन्दीपको सम्पूर्ण शैक्षिक खर्च बेहोर्ने निर्णय गरेकी हुन्।

थापाले भनिन्, “शिक्षाको अभावका कारण कुनै पनि बालबालिकाको भविष्य अन्धकारमा हराउन हुँदैन भन्ने मेरो विश्वास हो। मानव भएर जन्मिएपछि एकले अर्कालाई सहयोग गर्नु नै सबैभन्दा ठूलो धर्म हो। मैले चालेको यो सानो प्रयासले सन्दीपको जीवनमा नयाँ आशा र उज्यालो भविष्यको ढोका खोल्ने विश्वास लिएको छु।”

उनले आफ्नो क्षमताले भ्याएसम्म समाजका असहाय र आवश्यकतामा परेका व्यक्तिलाई सहयोग गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरिन्।

“रगतको नाताभन्दा मानवीय नाता ठूलो हुन्छ भन्ने मेरो गहिरो विश्वास छ। त्यसैले आवश्यकतामा परेकाहरूलाई सकेसम्म साथ दिने प्रयास गर्दै आएको छु र आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछु। रगतले होइन, अथाह प्रेम र विश्वासले गाँसिएको यो सम्बन्ध नै समाजलाई अझ सुन्दर बनाउने आधार हो,” थापाले भनिन्।

शिक्षाको महत्वबारे बोल्दै उनले मधेस प्रदेशमा अझै पनि धेरै बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रहेको उल्लेख गरिन्।

उनले भनिन्, “शिक्षामा हामीले धेरै फड्को मारेका छौँ होला, तर मधेसमा आज पनि धेरै बालबालिका विद्यालयभन्दा टाढा छन्। विपन्न वर्गसम्म शिक्षाको महत्व बुझाएर विद्यालयसम्म ल्याउने वातावरण अझै कमजोर छ। देशलाई परिवर्तन गर्न र नयाँ आयाम दिन सबैभन्दा पहिले शिक्षाको ज्योति बाल्न आवश्यक छ। मेरो यो प्रयास शैक्षिक सामग्री बाँड्ने मात्र होइन, शिक्षाप्रति चेतना फैलाउने एउटा सशक्त अभियान हो।”

त्यस्तै  थापाले केही महिना पहिला बिरामी परेका सत्यनारायण साफीलाई रु. १ लाख ५ हजार आर्थिक सहयोग पनि प्रदान गरेकी थिइन।

शिक्षा, मानव सेवा, सामाजिक उत्तरदायित्व तथा विपन्न समुदायप्रतिको संवेदनशीलतामार्फत शर्मिला थापाले समाजमा सकारात्मक उदाहरण प्रस्तुत गरिरहेकी छन्। राजनीतिक नेतृत्वसँगै सामाजिक सेवामा उनको सक्रियता स्थानीयस्तरमा प्रशंसनीय मानिएको छ। शिक्षा, मानवीय सहयोग र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर उनले सञ्चालन गरेका अभियानले विशेषगरी विपन्न बालबालिका र असहाय परिवारमा नयाँ आशा जगाएको स्थानीयवासीको भनाइ छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button