
सर्लाही,३० भदौ । बहुजन एकता पार्टी नेपालका वरिष्ठ नेता राजाराम पासवानले बहुजन समाजले आफ्नो पुरानो व्यवहार त्यागे मात्र शासक बन्न सक्ने टिप्पणी गरेका छन ।
बिहिवार बरहथवा नगरपालिका वडा नं. ३ हजरियामा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नु हुदै नेता पासवानले दलित बहुजन समाज अझ पनि बिकास एवं सम्मानित जीवन बाट धेरै टाढा राखिएको र दलितको दुश्मनको रुपमा जात व्यवस्था तथा सामन्तवादी व्यवस्था रहेको हुँदा दुबै कुव्यवस्थाको विनास गर्नुपर्ने बताउनुभयो। उहाले दलित समुदायले भाग्दै गरेको पिडा, विभिन्न समस्या लगायतको विभिन्न व्यवहार त्यागे मात्र बहुजन समाज शासक बन्न सक्ने बताउनुभयो ।
नेता पासवानले डा.अंबेडकर,बुद्धा,गुरु रविदास,गुरु कविर एवं समस्त बहुजन महापुरुषहरुको बिचारमा अधारित समतामूलक समाज निर्माणमा योगदान गर्न सबैलाई आग्रह समेत गरेका छन ।
भारतमा मान्यवर कांसी रामले दलितलाई राजनीतिको प्रमुख अंग बनाएर शासनमा हिस्सेदार बनाए जस्तो नेपालमा पनि बहुजन समाजलाई हुकुमरान बनाउन बहुजन एकता पार्टी नेपालले कठोर संघर्ष गरिरहेकोले यस मिसनमा सबैले अनिवार्य सहयोग गर्नुपर्ने नेता पासवानले आव्हान समेत गर्नुभएको छ ।
अहिले मधेश प्रदेशका विभिन्न जिल्लामा बहुजन एकता पार्टी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रम गरिरहेको छ ।पार्टीका स्थानीय कमिटी अध्यक्ष राम भजन रामको अध्यक्षतामा संपन्न भएको कार्यक्रममा नेता अरविन्द बैठा,बिकाउ पासवान लगाएतले प्रशिक्षण दिनुभएको थियो ।