१० चैत्र २०८०, शनिबार | Email:- [email protected] | [email protected]
चन्द्रनगरमा बालविवाह र बालश्रम न्यूनिकरण सम्बन्धी सम्वाद कार्यक्रम सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

चन्द्रनगरमा बालविवाह र बालश्रम न्यूनिकरण सम्बन्धी सम्वाद कार्यक्रम सम्पन्न

चन्द्रनगर,२७ फागुन । सर्लाहीको चन्द्रनगरमा ‘बालविवाह तथा बालश्रम न्यूनिकरण सम्बन्धी समुदाय परिवर्तन समुहका सदस्य, धार्मिक गुरु तथा सरोकारवालाबीच सम्वाद कार्यक्रम’ सम्पन्न भएको छ ।
समावेशी शिक्षा सुदृढीकरण(सिकाई) परियोजना अन्तर्गत वडा नम्बर ३ का वडाअध्यक्ष सिताराम महतोको अध्यक्षता तथा गाउँपालिकाकी उपप्रमुख गितादेवी महतोको प्रमुख आतिथ्यतामा वडा नम्बर ३ को बडकुर्वास्थित राम जनता आधारभूत विद्यालयको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो ।


सम्वाद कार्यक्रमका क्रममा सहभागिहरुले धार्मिक गुरु तथा सरोकारवालाहरुलाई बालविवाह र बालश्रम न्यूनिकरणमा तपाईहरुको भूमिका के छ ? जनप्रतिनिधिहरुका योजनाहरु के के छन् ? बालविवाह र बालश्रम न्यूनिकरण कसरी गर्न सकिन्छ ? भनेर प्रश्न गरेका छन् ।

जवाफमा प्रमुख अतिथी गापा उपाध्यक्ष गितादेवी महतो, वडा नम्बर २ का वडाअध्यक्ष शम्भु साह, ३ का वडाअध्यक्ष सिताराम महतो, ५ का वडाअध्यक्ष सूर्यंवंश यादव, ६ का वडाअध्यक्ष रामस्वरुप कुर्मी, ७ का वडअध्यक्ष दिपेन्द्र चौधरी, उपाध्यक्षका स्वकीय सचिव महाविर महतो, धार्मिक गुरु रामएकवाल महतो, मुस्लिम धर्मगुरु अलि हुसेन, अन्जार आलम, समाजसेवी शंकर प्रसाद चौधरी,व्यवसायी सुरेन्द्र राम लगायतले समुदायमा चेतना अभावका कारण बालविवाह र बालश्रम अझै पनि न्यूनिकरण हुन नसकेको बताए । उनीहरुले यसको न्यूनिकरण गर्न चेतनाको विस्तार गर्नुपर्ने बताए ।
जबसम्म अभिभावकमा छोराछोरीको सानै उमेरमा विवाह गरिदिँदा त्यसले नकरात्मक असर गर्छ भन्ने कुरा बुझ्दैनन् तब सम्म यो रोकिनेबाला छैन । यतिसुकै नियम कानून बनाएपनि प्रभावकारी नहुनेभन्दै उनीहरुले सबैभन्दा पहिला आफैबाट यसको न्यूनिकरणको लागि प्रतिबद्धता गर्नुपर्ने बताए ।

गाउँपालिकाकी उपाध्यक्ष गितादेवी महतो र वडाअध्यक्षहरुले बालविवाह न्यूनिकरण गर्नकै लागि भनेर गाउँपालिकाले २०वर्ष पारी विहे गर्ने छोरीहरुलाई प्रोत्साहन स्वरुप ५० हजार दिने योजना ल्याएका बताए । उनीहरुले छोराछोरीलाई जसरी पनि पढाउनुपर्ने भन्दै आफ्ना छोराछोरीलाई नियमित विद्यालय पढाउन आग्रह गरे ।

उनीहरुले गरीब तथा विपन्न समुदायका बालबालिकाको लागि गाउँपालिकाले पनि विभिन्न योजनाहरु ल्याउने बताउँदै उनीहरुले बालबालिकालाई खुरुखुरु विद्यालय पढाउन आग्रह गरे ।

पत्रकार सोम दियालले सञ्चालन गरेको सम्वाद कार्यक्रममा परियोजनाका प्रोटेक्सन फिल्ड अफिसर राजनारायण साहले सम्वाद कार्यक्रमको उदेश्यको बारेमा प्रष्ट पार्दै स्वागत मन्तव्य राखेका थिए ।

सबै बालबालिकालाई विद्यालयको पहूँचमा ल्याउने उदेश्यले अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा ह्याण्डीक्याप इन्टरनेशनल, वल्र्ड भिजन इन्टरनेशन, राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र(आरआरपिके) र वल्र्ड एजुकेशसनको साझेदारीमा चन्द्रनगर गाउँपालिकासहित ब्रह्मपुरी गाउँपालिका, पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकामा समावेशी शिक्षा सुदृढीकरण(सिकाई) परियोजना विगत साँढे तीन वर्षदेखि सञ्चालन भइरहेको छ ।

परियोजना अन्तर्गत परियोजना क्षेत्रभित्रका विद्यालयका शिक्षकहरुलाई शिक्षण सिकाई सम्बन्धी तालिम, शिक्षण सिकाई सामाग्री प्रदान, अभिभावकका लागि विभिन्न खाले तालिम, बालबालिकाका लागि रुपान्तरण कक्षा जस्ता कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.