५ माघ २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
किशोर किशोरीको समग्र विकासका लागि १० दिने “रूपान्तरण जीवन उपयोगी सिप” प्रशिक्षक तालिम सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेशमधेश प्रदेशसमाचारसमाजस्थानीय

किशोर किशोरीको समग्र विकासका लागि १० दिने “रूपान्तरण जीवन उपयोगी सिप” प्रशिक्षक तालिम सम्पन्न

 

प्रदीप कुमार दास, रौतहट ।

मङ्सीर २७ गते,बिहीबार ।

किशोरकिशोरीहरूको समग्र विकासका लागि “रूपान्तरण जीवन उपयोगी सिप” प्रशिक्षक तालिम सम्पन्न भएको छ। दुर्व्यवहार, विभेद, हिंसा तथा विभिन्न सामाजिक समस्याहरूको व्यवस्थापन गर्दै किशोरकिशोरीहरूलाई सक्षम र सशक्त बनाउने उद्देश्यले यो तालिम सञ्चालन गरिएको थियो।

मंसिर १८ गतेबाट सुरु भएको तालिम २७ गते चपुरस्थित आरोही होटल एण्ड लजको सभाहलमा समापन भएको हो। ग्रामीण विकास केन्द्र नेपाल र वर्ल्ड भिजनको सहयोगमा बागमती सेवा समाज नेपालद्वारा आयोजित यो तालिम माधवनारायण नगरपालिका र गरुडा नगरपालिकाको समन्वयमा सम्पन्न भएको हो। तालिममा गरुडा नगरपालिका, माधवनारायण नगरपालिका तथा सर्लाहीको हरिपुर्वा नगरपालिकाका किशोरकिशोरीहरू सहभागी थिए।

तालिमको समापन कार्यक्रममा माधवनारायण नगरपालिकाका मेयर वैजनाथ प्रसाद यादवले प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै भने, “यो तालिमले किशोरकिशोरीहरूलाई जीवन उपयोगी सीपका साथै सामाजिक रूपान्तरणको मार्गदर्शन गरेको छ। तीन वर्षदेखि सञ्चालन हुँदै आएको यस कार्यक्रमबाट हामीले किशोरकिशोरीहरूको जीवनमा सकारात्मक प्रभाव देख्न पाएका छौँ। हाम्रो लगानीले यिनीहरूलाई सक्षम बनाउन भूमिका खेलेको छ, जसबाट भविष्यका लागि ठूलो आशा गर्न सकिन्छ।”

कार्यक्रममा गरुडा नगरपालिकाकी उपप्रमुख पुनम चौधरी, हरिपुर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार परियार, कृषि शाखा प्रमुख प्रभु नारायण चौधरी, माधवनारायण नगरपालिकाका राजस्व शाखा प्रमुख अनुज झा, विभिन्न वडाध्यक्षहरू, ग्रामीण विकास केन्द्र नेपालका अध्यक्ष पारस हुसैन, उपाध्यक्ष ममता झा, बागमती सेवा समाजका प्रमेश श्रेष्ठ, वर्ल्ड भिजनका विनय आमात्य, बालकृष्ण र विनय चौहानलगायतको उपस्थिति रहेको थियो।

तालिममा किशोरकिशोरीहरूले महिला हिंसा, बालविवाह, छुवाछूत तथा अन्य सामाजिक विकृतिहरूको पहिचान र व्यवस्थापनका लागि आवश्यक सीप सिकेका छन्। सहभागीहरूले सिकेका ज्ञान र सीप आफ्ना गाउँ र टोलमा लागू गरी समुदायको विकासमा योगदान दिने प्रतिबद्धता व्यक्त गरे। तालिममा सहभागी एक किशोरीले भनिन्, “यो तालिममा सहभागी हुनु मेरो लागि सौभाग्य हो। मैले यहाँबाट सिकेका ज्ञान र सीप मेरा साथिहरूसँग बाँड्नेछु।”

समापन समारोहमा सहभागी किशोरकिशोरीहरूले १० दिनको तालिममा सिकेका गतिविधिहरू प्रस्तुत गरे। सिलाइ, पेन्टिङ, नृत्य तथा विभिन्न मनोरञ्जनात्मक प्रस्तुति कार्यक्रममा विशेष आकर्षण बने। कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै तालिमलाई औपचारिक रूपमा समापन गरिएको थियो।

ग्रामीण विकास केन्द्र नेपालका अध्यक्ष पारस हुसैनले तालिम समापन समारोहमा किशोरकिशोरीहरूलाई सम्बोधन गर्दै भने, “आजको तालिमले तपाईहरूलाई एक परिवर्तनकर्ता बनाएको छ। अब, तपाईहरूले आफूलाई बदल्दै समाजमा सकारात्मक परिवर्तन ल्याउनुहोस्।”

हरिपुर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार परियारले तालिमको महत्व औंल्याउँदै भने, “संघ-संस्थाको सहयोगले यस्ता कार्यक्रम सञ्चालन हुँदा सामाजिक विकृतिहरू घटेका छन्। यसले महिला हिंसा, छुवाछूत तथा चेलीबेटी बेचबिखन जस्ता समस्याहरूमा कमीआएको देखिएको छ।”

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button