प्रेमनाथ पौडेल
हरिवन, पौष ९ – हरिवन नगरपालिकाका सहकारी विकास शाखा संयोजक केशब राज थापाले सहकारी संस्थाहरूले आफ्ना शेयर सदस्यहरूलाई केवल बचत र ऋण कारोबारमा सीमित नराखी उद्यमशील बनाउँदै आर्थिक उन्नतिमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभएको छ।
मंगलबार हरिवन नगरपालिकाको वडा नम्बर ८, नारायण चौकस्थित सम्पूर्ण देवी बचत तथा ऋण सहकारी संस्थाको १६औँ वार्षिक साधारण सभामा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै संयोजक थापाले सहकारीले सदस्यहरूको आर्थिक जीवनस्तर उकास्न सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।
उहाँले सहकारीको साधारण सभा सदस्यहरूको सहभागितामा संस्थाको वार्षिक प्रगतिको समीक्षा गर्ने, रायसुझाव दिने र संस्थाका गतिविधिप्रति जागरूक बन्ने महत्त्वपूर्ण समय भएको बताउनुभयो।
थापाले पछिल्लो समयमा देखिएका सहकारी संस्थाका विकृतिबाट बच्न, नगरपालिका स्तरबाट छड्के अनुगमन गर्दै संस्थाको वित्तीय कारोबार, व्यवस्थापन र ऋण लगानीलाई पारदर्शी बनाइने जानकारी दिनुभयो।
सभामा संस्थाका सचिव सुमन मोक्तानले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८०/८१ मा ४ करोड ६८ लाख ७३ हजार ४ सय ४७ रुपैयाँको कारोबार भएको र १ लाख ७ हजार ४ सय ८ रुपैयाँ खुद मुनाफा गरेको जानकारी दिनुभयो। साथै, विभिन्न योगदानदाताहरूलाई सम्मान गरिएको र संस्थाले ९०७ जना शेयर सदस्यहरूका लागि उद्यमशीलताको अवसर प्रदान गर्ने लक्ष्य लिएको जानकारी गराइएको छ।