सर्लाही सहित देशैभरी विश्व क्यान्सर दिवस मनाइएको छ । आज मंगलबार फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस। ‘पृथकतामा एकताः क्यान्सर भोगाइका कथाहरू’ नाराका साथ विभिन्न कार्यक्रम गरेर मनाइएको छ । हरिवन नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा महिला स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थितिमा विश्व क्यान्सर दिवस मनाइएको छ ।क्यान्सरका विभिन्न लक्षण, उपचारका विकल्प र क्यान्सर प्रभावित व्यक्तिहरुको अनुभवहरू साझा गरिएको हरिवन नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरीले जानकारी दिनुभयो ।
क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने स्वास्थ्य शाख प्रमुख चौधरीले बताउनुभयो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले क्यान्सर थाहा पाउनेबित्तिकै उपचार भए जस्तोसुकै अवस्थाको रोग निको पार्न सकिने बताउनुभयो ।
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेले क्यान्सरको तेस्रो र चौथो चरणलाई निको पार्न कठिन भए पनि पहिलो र दोस्रो चरणलाई निर्मूल गर्न सकिने धारणा राख्नुभयो । पहिलो चरणमा रोगको पहिचान हुन सक्यो भने त्यसले कुनै लक्षण र समस्या नदेखाउने भएकाले उपचार सम्भव हुने उहाको भनाइ छ।
क्यान्सर अत्यधिक मद्यमान र सुर्तीजन्य पदार्थको सेवन, खानपिन, जीवनशैली, आराम, विकिरणको प्रभाव, जीवाणुको कारण, वंशाणुगतलगायत मुख्य कारण हुने गरेको छ । बढीजसो फास्टफुड, जंकफुड, धुमपान, मध्यपान, पोलेको, व्यायाम नगर्दा, सडेगलेका तथा बासी खानेकुरा ले गर्दा क्यान्सरको जोखिम हुने गरेको चिकित्सकहरुले बताएका छन ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरि क्यान्सरले गराउने कूल मृत्युको करिब एक तिहाइ सुर्तीजन्य पदार्थको सेवन, मदिरा सेवन, असन्तुलित आहारका कारण र नियमित व्यायामको कमीले हुने गरेको छ। बाँकी क्यान्सरका कारणमा विकिरणको प्रभाव, वातावरणीय प्रदूषणका साथै अन्य संक्रमण रहेका छन्।
विकासोन्मुख देशमा भने करिब ३० प्रतिशत क्यान्सर हेपाटाइटिस, ह्युमन प्यापिलोमाभाइरस संक्रमणले हुने गरेको छ। ‘ग्लोबोक्यान’ नामक एक सर्वेक्षणका अनुसार नेपालमा प्रत्येक वर्ष २० हजारभन्दा बढी क्यान्सरका बिरामी हुने गरेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो।पछिल्लो सन् २०२० को तथ्यांक अनुसार क्यान्सरले नेपालमा १६ हजार ६२९ जनाको मृत्यु भएको थियो।