ताजा खबर
मलंगवा नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको हाजिरीसँगै तालाबन्दी खुल्यो

सर्लाही,३ मंसिर । सर्लाहीको मलंगवा नगरपालिकामा होमप्रसाद घिमिरे नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा हाजिर भएपछि केही दिनदेखि चलिरहेको तालाबन्दी खुलेको छ। घिमिरेले हाजिर गरेलगत्तै उपप्रमुख शकुन्तला देवी साहसहित वडा अध्यक्षहरूले राखिएको १० बुँदे मागबारे छलफल भएको थियो।
नगरपालिकाका प्रवक्ता नवल यादवका अनुसार अधिकृत घिमिरेले उठाइएका मागहरूलाई कानून तथा विद्यमान नियमावलीअनुसार सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि तालाबन्दी खुलाइएको हो। उपप्रमुख र वडा अध्यक्षहरूले संयुक्त रूपमा गरेको तालाबन्दीका कारण नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षलगायत अधिकांश शाखाहरू बन्द अवस्थामा रहेका थिए।
नयाँ अधिकृतसँगको सहमति भएपछि नगरपालिका पुनः नियमित रूपमा सञ्चालनमा आएको छ।



