हरिवनको निःशुल्क आँखा शिविरमा १ हजार ३७ जनाले गराए जाँच

सर्लाहीको हरिवनमा जारी निःशुल्क आँखा शिविरमा १ हजार ३७ जनाले आँखा जाँच गराएकाछन । जसमध्ये २ सय ५ जनामा मोतियाबिन्दु फेला परेको छ भने १ सय १२ जना आँखाको रोगीलाई निशुल्क चस्मा प्रदान गरिएको छ ।
हरिवन नगर स्वास्थ्य शाखाकाले फागुन ३ गते बाट ८ गतेसम्म शिविर सञ्चालन गर्ने छन । नगर स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामबाबु चौधरीका अनुसार हरिवन नगरपालिका, नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पताल, चितवन र आखा उपचार केन्द्र सुखेपोखरी हरिवनको संयुक्त आयोजनामा आँखा शिविर सञ्चालनभएको हो ।
आज आँखा उपचार केन्द्र सुखेपोखरीमा शिविर सञ्चालन भएको थियो । आज मात्र १ सय ५० जनाले आँखा जाँच गराएका थिए जसमध्ये ३५ जनामा मोतियाबिन्दु फेला परेको हो भने १० जनालाई चस्मा प्रदान गरिएको थियो । शिविरमा विरामीहरुको निःशुल्क जाँच गरिनुका साथै उनीहरुलाई चश्मा र औषधीसमेत निःशुल्क प्रदान गरिएको छ । शिविरमा फेला परेका मोतियाविन्दुका विरामीहरुको फागुन ६ गतेदेखि ८ गतेसम्म तीन दिन आँखा उपचार केन्द्र सुखेपोखरीमै निःशुल्क अपरेशन हुनेछ ।
स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत चौधरीका अनुसार पछिल्लो समय धुँवा, धुलो, तथा मोवाईल, कम्प्युटरजस्ता प्रविधिको प्रयोगले मानिसहरुको आँखामा समस्या आउने गरेको छ । हरिवन नगरभित्र पनि मोतियाविन्दुको विरामीहरु धेरै हुन सक्ने भन्दै उनीहरुलाई नै लक्षित गरेर शिविर गर्न लागिएको हो ।
शिविरमा भरतपुर आँखा अस्पतालबाट आएका आँखाका डाक्टरहरुले विरामीहरुको आँखाको जाँच गर्नेछन् । नगर स्वास्थ्य शाखाकाले शिविरमा आई निःशुल्क रुपमा आँखा जाँच गराई मौकाको फाईदा लिन सबैलाई आग्रह गरेको छ ।