मौलापुर नगरपालिकामा लामखुट्टे नियन्त्रणका लागि फगिङ अभियान सुरु

प्रदीप कुमार दास, रौतहट ।
चैत्र ०४ गते, सोमबार ।
रौतहटको मौलापुर नगरपालिकाले नगर प्रमुख रिना कुमारी शाहको निर्देशनमा नगरभर लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने अभियान सुरु गरेको छ। गर्मी मौसम सुरु भएसँगै लामखुट्टेको प्रकोप बढ्न थालेपछि नगरपालिकाले आफ्नो क्षेत्रका बासिन्दालाई लामखुट्टेको टोकाइबाट हुने डेङ्गु, मलेरिया, हात्तिपाइलेजस्ता रोगहरूबाट बचाउन यो पहल गरेको हो।
नगर प्रमुख शाहको निर्देशनअनुसार आज चैत्र ४ गतेबाट नगरका विभिन्न क्षेत्रमा लामखुट्टे मार्ने औषधि छर्किने कार्य सुरु गरिएको छ। यसबारे प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद साहले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन्। मौलापुर नगरपालिकाले प्रत्येक वर्ष लामखुट्टेको प्रकोप बढ्ने समयमा फगिङ अभियान सञ्चालन गर्दै आएको छ। यस वर्ष भने नगर प्रमुख शाहको विशेष पहलमा गर्मी महिना सुरु हुनासाथै अभियान सुरु गरिएको हो।
फगिङ अभियानलाई प्रभावकारी बनाउन प्रमुख प्रशासकीय अधिकृत साहले नगरबासीलाई सहकार्य गर्न आग्रह गरेका छन्। विशेष दक्ष जनशक्तिको प्रयोग गरी फगिङ मेसिनमार्फत नगरका विभिन्न क्षेत्रमा औषधि छर्किने कार्य भइरहेको छ। नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अच्छेलाल साहका अनुसार प्रयोग गरिने औषधिले मानव स्वास्थ्यमा कुनै असर नगर्ने र यो अभियान नगरबासीको सुरक्षाका लागि प्रभावकारी हुने जनाएका छन् ।
नगरपालिकाले सबै नागरिकलाई लामखुट्टे नियन्त्रणका लागि व्यक्तिगत सावधानी अपनाउन आग्रह गर्दै यो अभियानलाई सफल बनाउन सहयोग गर्न अनुरोध गरेको छ ।