प्रभु साहको प्रश्न, ‘पानी अभावले मधेशका जनता काकाकुल छन्, सरकारले किन देख्दैन ?’

काठमाडौं, ७ साउन । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ‘देउता (भगवान) भेटन सहज छ, तर परराष्ट्रमन्त्री भेटन गाहरो’ रहेको टिप्पणी गरेका छन् । विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्न नसक्ने तर सरकार मान्छेको बेचबिखनमा संलग्न रहेको गम्भिर आरोप उनले लगाए ।
प्रतिनिधिसभाको आज (बुधबार) बसेको बैठकमा आजपा अध्यक्ष साहले रौतहटका जयप्रकाश साह विगत एक बर्षदेखी युक्रेनमा फसेको तर सरकारले उद्धारका लागि कुनै चासो नै नदिएको बताए । जयप्रकाश जस्तै सयौँ मान्छेहरु युक्रेनमा फसेको बताउदै उनले तिनिहरुको उद्धारमा सरकारले कुनै चासो नदिएको भन्दै सरकारको जवाफ माग गरे ।
परराष्ट्रमन्त्री आरजु राणालाई पीडित परिवारले भेटन नपाएको बताउदै उनले भने, ‘सभामुख महोदय मैले दुखका साथ भन्नुपरेको छ । देउता (भगवान) भेटन सहज छ, तर परराष्ट्रमन्त्री भेटन गाहरो छ । जयप्रकाशका श्रीमती एक बर्षको बच्चा बोकेर सरकारी अडामा भौतारिनुपरेको छ । तर उनले न्याय पाउन सकिरहेकी छैनन् । न्याय पाउन के गर्नुपर्छ ? म सरकारको जवाफ चाहन्छु ।’
सरकारले विदेशमा अलपत्र परेका, बिभिन्न कारणले फसेका नेपालीको उद्धार गर्न नसक्ने तर नेपाली जनतालाई बेच्नमा व्यस्त भएको टिप्पणी आजपा अध्यक्ष साहले गरेका छन् । जयप्रकाशको परिवारले गत भदौमा बारा जिल्ला प्रहरीमा उजुरी गर्यो । पोर्चुगल पठाइदिन्छु भन्ने एजेण्टका बिरुद्धमा उजुरी दिएको थियो तर सरकारले कुनै कारवाही प्रक्रिया नै अगाडी नबढाएको बारेमा साहले सरकारको जवाफ माग गरेका छन् ।
यस्तै, आजपा अध्यक्ष साहले तराई मधेसमा पानीको हाहाकार हुँदा समेत सरकारले कुनै चासो नदिएको भन्दै सरकारको आलोचना गरे । तराई मधेसका जनता खानेपानीका लागि तडपिरहेको, किसान मलखाद्यका लागि पर्खिरहेको, बिजुली बती झ्याप–झ्याप जाने गरेको लगायतका समस्याको बारेमा उनले सरकारको ध्यानाकर्षण गराए ।
‘तराई मधेसमा खानेपानीको हाहाकार छ । काकाकुलको अवस्था छ । पानीपानी भन्दाभन्दै मान्छेहरु चुप लागे तर सरकारले पानी कहिले दिने हो ? सुन्नेहरुको काम पाकी सक्यो । म सरकारसंग जवाफ चाहन्छु, पानी दिने हो की नदिने हो ? कहिले दिने हो ? म जान्न चाहन्छु,’ आजपा अध्यक्ष साहले भने, ‘सरकारका मन्त्रीहरु, प्रधानमन्त्री विदेशबाट मिनिरल वाटर मगाएर खानुहुन्छ । तर नेपाली जनतालाई नेचुरल वाटर पनि पाइरहेको छैन् । म सरकारसंग सोध्न चाहन्छु खानेपानीसंगै मलखाद्यको जिम्मा तपाईको हो की होइन ? यदी मलखाद्यको जिम्मा हो भने किसानले किन मलखाद्य पाइरहेको छैन् ? भन्ने जवाफ सरकारसंग माग्न चाहन्छु ।’
मधेस सरकारले सुख्खा क्षेत्र घोषणा गरेको प्रति केन्द्र सरकारको धारणा के हो भन्ने बारेमा समेत उनले सरकारसंग जवाफ माग गरेका छन् । सुख्खा क्षेत्रका जनताले राहत पाउँने की नपाउँने, सरकारले के गरिरहेको छ ? सरकारको सोच र धारणा के हो ? त्यसबारेमा सदनलाई जानकारी गराउँन उनले माग गरे । यस्तै मधेसमा झ्याप–झ्याप बिजुली जाने गरेका बारेमा सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।