सई यादव सर्लाहीको उत्कृष्ट प्रहरी घोषित

जिल्ला प्रहरी कार्यालय सर्लाहीले इलाका प्रहरी कार्यालय कर्मैयाका प्रमुख, प्रहरी नायब निरीक्षक सई सुभाष यादवलाई असार महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरेको छ ।जिल्लाभरमा अपराध नियन्त्रण, अनुसन्धान तथा मानवीय उद्धारमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै यादवलाई उत्कृष्ट प्रहरी २०८१ असारबाट सम्मान गरिएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीले राम्रो काम गर्ने प्रहरी कर्मचारीलाई उत्प्रेरित गर्न मासिक रूपमा यस्तो सम्मान प्रदान गर्दै आएको छ।
सई यादवले आफ्नो कार्यकालमा उल्लेखनीय सफलता हासिल गरेका छन् । उनकै नेतृत्वमा छिमेकी राष्ट्र भारतको बिहार राज्यअन्तर्गत सोनवर्षा थानासँगको समन्वयमा नक्कली नेपाली रुपैयाँको कारोबार गर्ने गिरोहलाई पक्राउ गरिएको थियो । सो क्रममा १००० रुपैयाँ दरका १७६ थान नक्कली नोटसहित ५ जना र सोही दिन थप २० थान नक्कली नोट, १ थान नलकटुवा पेस्तोल र १० राउण्ड गोलीसहित २ जना भारतीय नागरिक पक्राउ परेका थिए ।यसका साथै भारतको बसतपुरमा बन्धक बनाइएका बागमती नगरपालिका–१० का १८ वर्षीय शेख जयसको सकुशल उद्धार गर्न पनि सई यादवले महत्त्वपूर्ण समन्वयकारी भूमिका निर्वाह गरेका थिए ।
तस्करी नियन्त्रणमा पनि उनको काम प्रशंसनीय रहेको छ । हालै मात्र भुसमा लुकाएर काठमाडौँ लैजान लागिएको १२ लाख ३० हजार मूल्य बराबरको ८२० केजी काजुसहित ट्रक र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पथलैया राजस्व कार्यालय पठाइएको थियो ।यसबाहेक विभिन्न मितिमा करिब ४ करोड ३६ लाख ४२ हजार बराबरको भन्सार छलीका सामानहरू, जसमा कबाड, लसुन, इलेक्ट्रोनिक्स, हार्डवेयर, कपडा, मेसिनरीलगायत सामग्रीसहित १० वटा ट्रक नियन्त्रणमा लिन उनी सफल भएका थिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख, प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काद्वारा हस्ताक्षरित सम्मानपत्रमा सई यादवले लागु औषध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, र भारतीय सुरक्षाकर्मीसँगको समन्वयमा बालबालिकाको उद्धार जस्ता कार्यमा महत्त्वपूर्ण भूमिका खेलेर प्रहरी सङ्गठनको छवि उच्च राखेको उल्लेख छ ।उनको यही योगदानको कदरस्वरूप उनलाई असार २५ गते ‘पुलिस अफ द मन्थ’ बाट सम्मान गरिएको हो ।