
सर्लाही निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत धनकौलमा आज नेपाली काँग्रेस समर्थक युवाहरूले लोकतन्त्र, वर्तमान संविधानको रक्षा तथा शान्ति–सुरक्षा कायम गर्न माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका छन्।
स्थानिय टोलटोलबाट युवा तथा नागरिकहरू सहभागी भएको उक्त प्रदर्शनमा संविधानको कार्यान्वयन, शान्तिपूर्ण राजनीतिक अभ्यास, र लोकतान्त्रिक मूल्य मान्यता जोगाउन सबै राजनीतिक दल र राज्य संयन्त्रलाई दबाब दिनुपर्नेमा जोड दिइएको थियो।
प्रदर्शनमा सहभागी युवाहरूले लोकतन्त्रमा आस्था राख्ने प्रत्येक नागरिकले वर्तमान संविधानलाई मजबुत बनाउन र जनताको अधिकार सुरक्षित गर्न सक्रिय भूमिका खेल्नुपर्ने विचार व्यक्त गरे।
नेपाल कांग्रेस समर्थक युवाहरूले केही व्यक्तिको खेलले संविधानलाई कमजोर पार्ने, नागरिक अधिकार संकुचन शान्ति–सुरक्षा खलबल्याउने काम भएको तर्क राखेका छन।उनिहरुले यस्ता कुनै पनि गतिविधि सहन नसक्ने चेतावनी दिए। प्रदर्शनका क्रममा सहभागीहरूले “संविधान हाम्रो शान हो, लोकतन्त्र हाम्रो पहिचान हो”, “शान्ति र सुरक्षा कायम गर” जस्ता नाराहरू पनि लगाएका थिए।
नेपाली कांग्रेसका मधेस प्रदेश उपसभापति बिरेन्द्र प्रसाद सिंहले वर्तमान संविधान नेपालको लोकतान्त्रिक उपलब्धिको मेरुदण्ड भएको उल्लेख गर्दै त्यसको रक्षा र कार्यान्वयनमा कुनै पनि सम्झौता नगरिने बताए। केही व्यक्तिले मुलुकमा अस्थिरता र अशान्ति फैलाउने गतिविधि गरिरहेको हुदा ती व्यक्ति रोक्न युवाहरू नै अगाडि बढ्नुपर्ने सिंहले बताए ।
प्रदर्शन शान्तिपूर्ण ढंगले सम्पन्न भए पनि युवाहरूले आफ्ना माग पूरा नभएसम्म दबाबमूलक कार्यक्रम निरन्तर गर्ने चेतावनी दिएका छन्।