ब्यवस्थालाई स्वीकारेर केवल सरकार बदलने समझौता जेनजी आन्दोलनसंग धोखा हो : आजपा

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले पुरानै व्यवस्था र प्रणालीलाई स्वीकार गरी केवल सरकार मात्रै परिवर्तन हुनु जेनजी आन्दोलन र सडकमार्फत अभिव्यक्त ताजा जनादेशको अपमान भएको जनाएका छन् ।
जेनजी आन्दोलन र सडकमार्फत अभिव्यक्त ताजा जनादेश विपरित उही संविधान, पुरानै व्यवस्था र प्रणालीलाई स्वीकार गर्दै सरकारको नेतृत्व मात्रै परिवर्तन गरेर अगाडी बढने बिषय धोका भएको भन्दै त्यसलाई स्वीकार गर्न नसकिने उनले बताएका छन् ।
नेपाली जनताले अहिलेको संविधान, व्यवस्था, प्रणाली र सरकार अस्वीकार गरिसकेकाले संविधानको रटान लगाउनुको कुनै औचित्य नभएको उनले जनाएका छन् । आजपा अध्यक्ष साहले शुक्रबार विज्ञप्ती जारी गर्दै संसद विघटन गरी नयाँ सरकार र नयाँ संविधान निर्माणको दिशामा अगाडी बढनु नै नेपाली जनताको माग रहेको जनाएका छन् ।
‘जेन जी पुस्ताको नेतृत्वमा भएको जन आन्दोलनलाई केवल नेतृत्वको अनुहार परिवर्तनमा मात्र सीमित गरी अघि बढ्ने धोकापूर्ण सम्झौता हामीलाई स्वीकार्य छैन । किनकी, समस्या केवल व्यक्तिमा होइन, गलत संरचना र भ्रष्ट प्रणालीमा छ, जसले केन्द्रदेखि प्रदेश र स्थानीय तह लगायत राज्यको सम्पूर्ण निकायलाई नै दूषित तुल्याएको छ,’ आजपा अध्यक्ष साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘हामी सतहमा रमाउने होइन, गहिराइमा पुगेर समाधान खोज्न जरूरी छ । सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको विद्रोहले देशमा व्याप्त बेथीति, लुट एवं भ्रष्टाचारको मूल जड वर्तमान सरकार, संसद र संविधानलाई अस्वीकार गरिसकेको सन्दर्भमा फेरि उहीं पुरानै व्यवस्था र प्रणालीलाई स्वीकार गरी अघि बढ्ने कुरा जेनजी आन्दोलन र सडकमार्फत अभिव्यक्त ताजा जनादेशको अपमान हो ।’
जेनजी पुस्ताको अगुवाईमा भएको जनआन्दोलनमार्फत प्रकट गरेको ताजा जनादेशलाई स्वीकार गरेर देशलाई बदलावको दिशामा अगाडि बढाउनुपर्ने उनले जनाएका छन् । अहिलेको संविधान पुर्णरुपमा असफल भइसकेको बताउदै उनले नयाँ संविधान निर्माणमा जुटनुपर्ने आवश्यक रहेको जनाएका छन ।
‘जसरी मेसिन परिवर्तन नगरिकन म्यानेजर र कारिन्दा मात्र बदलेर उत्पादन परिवर्तन गर्न सकिँदैन, ठिक त्यसैप्रकार व्यवस्था नबदलिकन अवस्था बदल्न सकिँदैन । व्यवस्था र अवस्था आँफैमा अन्तरसम्बन्धित विषय हुन् । यस सार्वभौम सत्यलाई नजरअन्दाज गर्नु दुखद हो । यसरी जेन जीहरुको अगुवाईमा भएको जनक्रान्तिको औचित्य इतिहासमा पुष्टि गर्न गाह्रो हुनेछ । यसर्थ, यस आन्दोलनलाई कंलकित हुनबाट बचाउन र शाहिदको सपना र रगतलाई जोगाउन यो धोकापूर्ण सम्झौतालाई अस्वीकार गरौं ! वर्तमान व्यवस्थाको खारेजी सहित नयाँ व्यवस्था निर्माणको दिशामा अघि बढौं,’ साहले भनेका छन् ।