
नेपालसँगको तीन खेलको ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि वेस्ट इन्डिजको टोली घोषणा भएको छ । ‘युनिटी कप’ टी–२० शृङ्खलाका लागि वेस्ट इन्डिज क्रिकेट बोर्डले अकिल हुसेनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
वेस्ट इन्डिजको टोलीमा छ जना खेलाडी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्दैछन् । पहिलो रोजाईका खेलाडीमा अकिल मात्रै रहेका छन् । यस्तै जेसन होल्डर, केसी कार्टी, फबिएन एलेन, कायल मेयर्स र ओबेद म्याकोय राष्ट्रिय टोलीमा खेलिसकेका खेलाडी छन् ।
१५ सदस्यीय टोलीमध्ये नौ जना यसअघि नै अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरिसकेका खेलाडीहरु छन् । यस्तै अन्य खेलाडीहरु घरेलु लिग र क्यारेवियन प्रिमियर लिगमा राम्रो प्रदर्शन गरेका युवा खेलाडीहरु रहेका छन् ।
वेस्ट इन्डिज क्रिकेट बोर्डले टोली घोषणासँगै नयाँ युवा खेलाडीहरुलाई यो शृङ्खलामा प्राथमिकता दिनुको कारण आउँदो टी–२० विश्वकपको टोली निर्माण गर्नका लागि रहेको उल्लेख गरेको छ । नेपाल र वेस्ट इन्डिजबीचको तीन खेलको टी–२० शृङ्खला आउँदो असोज ११, १३ र १४ गते संयुक्त अरब इमिरेट्स (यूएई)को शारजाहमा हुँदैछ ।
नेपालले दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजसँग पहिलो पटक टी–२० शृङ्खला खेल्न लागेको हो । यो शृङ्खला नेपालका लागि आईसीसी टी–२० विश्वकप एशिया छनोटको तयारीका रूपमा रहनेछ । यसअघि नै नेपालले कप्तान रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिसकेको छ ।
यस्तो छ वेष्ट इण्डिजको टोली :
अकिल हुसेन, फबिएन एलेन, जवेल एन्ड्रयु, एकिम, अगष्ट, नविन बिडाइसे, जेडिया ब्लेड्स, केसी कार्टी, करिमा गोर, जेसन होल्डर, अमिर जाङ्गो, कायल मेयर्स, ओबेद म्याककोय, जिशान मोतरा, रामोन सिमन्ड्स र शमार स्प्रिंगर ।
स्रोत :- उज्यालो अनलाईन