सर्लाहीमा क्रिसमस डे हर्षोल्लासका साथ मनाइयो

सर्लाही, १० पुस । विश्वभर इसाई धर्मावलम्बीहरूले श्रद्धा, उत्साह र उमङ्गका साथ मनाउने महान पर्व क्रिसमस डे सर्लाही जिल्लामा पनि विविध कार्यक्रमसहित हर्षोल्लासका साथ मनाइएको छ ।
जिल्लाका मलंगवा, हरिवन, लालबन्दी, बरहथवा, ईश्वरपुर, गोडैता लगायतका विभिन्न स्थानमा रहेका चर्चहरूमा विशेष प्रार्थना सभा, सांस्कृतिक कार्यक्रम र शुभकामना आदान–प्रदान गरी क्रिसमस मनाइएको हो ।

क्रिसमसको अवसरमा बिहानैदेखि चर्चहरूमा विशेष प्रार्थना सभा आयोजना गरिएको थियो । प्रभु येशू ख्रिस्टको जन्मदिनको सम्झनामा बाइबल पाठ, भजन–कीर्तन तथा शान्ति र मानवताको सन्देश प्रवाह गरिएको थियो । चर्च परिसर आकर्षक ढंगले सजाइएको थियो भने क्रिसमस ट्री, झिलिमिली बत्ती र विभिन्न सजावटले वातावरण थप रमाइलो बनेको देखिन्थ्यो ।
कार्यक्रममा इसाई समुदायका धर्मगुरुहरूले प्रेम, क्षमा, सहिष्णुता र मानव सेवाको महत्वबारे प्रवचन दिएका थिए । मित्र मण्डलीका पास्टर तथा लालबन्दी नगर क्रिस्टियन समाजको सचिव विकास बुढाथोकीले क्रिसमस केवल एउटा धार्मिक पर्व मात्र नभई आपसी सद्भाव, भाईचारा र सामाजिक एकताको सन्देश दिने पर्व भएको उल्लेख गरे ।

क्रिसमसको अवसरमा इसाई समुदायका परिवारहरूबीच आपसी भेटघाट, शुभकामना आदान–प्रदान गरिएको थियो । बालबालिकाहरूले सान्ता क्लजको पोशाकमा नाचगान प्रस्तुत गर्दै कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।
सहभागीहरूले सर्लाही बहुजातीय, बहुधार्मिक जिल्ला भएकाले यस्ता पर्वहरूले आपसी सद्भाव र सामाजिक एकतालाई थप मजबुत बनाउने बताएका छन् ।
यसैगरी मलंगवामा मलंगवा मित्र मण्डलीको आयोजनामा विविध कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम मलंगवा मित्र मण्डलीका पास्टर संजीत मण्डलको अध्यक्षतामा आयोजना गरिएको थियो।
कार्यक्रमको सञ्चालन सगरमाथा आधारभूत आवासीय विद्यालय, मलंगवाका अध्यक्ष तिलक कुमार क्षेत्रीले गर्नुभएको थियो। कार्यक्रममा अतिथि प्रमोद भण्डारी, लखेन्द्र राम, भरत यादव, लोरेन्स क्षेत्री, जोसेफ क्षेत्रीलगायत इसाई धर्मका अगुवाहरुको सहभागिता रहेको थियो।
मलंगवा नगरपालिका–१० स्थित चर्चमा सम्पन्न कार्यक्रममा शुभकामना आदान–प्रदान, सांस्कृतिक कार्यक्रम, प्रवचन, प्रेम भोजका साथै बालबालिकालाई उपहार वितरण गरिएको आयोजकले जनाएको छ।



