१४ माघ २०८२, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
देशको नेतृत्व असल नहुँदा हामीले लुम्बिनीलगायत देशकै नेचुरल ब्यूटीलाई बेच्न सकेनौं : प्रभु साह – Nigrani Today
ताजा खबर

देशको नेतृत्व असल नहुँदा हामीले लुम्बिनीलगायत देशकै नेचुरल ब्यूटीलाई बेच्न सकेनौं : प्रभु साह

बुटवल, १३ माघ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालले आफ्नो देशको नेचुरल ब्यूटीलाई बेच्न नसकेको टिप्पणी गरेका छन् । देशको नेतृत्वमा पुगेकाहरुसँग सही भिजन नहुँदा नेपाल प्राकृतिक रूपमा धनी हुँदाहुँदैपनि पछि परेको उनको भनाई छ ।

आज (मंगलबार) बुटवलमा आजपाको सम्पन्न लुम्बिनी प्रदेश स्तरीय निर्वाचन परिचालन कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीको बृहत्तर एकीकृत विकासको लागि पनि गम्भीर पहल नपुगेको गुनासो पोखे । लुम्बिनीको गौरवलाई बढाउनेगरि आगामी दिनमा काम गरिनुपर्ने उनको मत छ ।

लुम्बिनीको ऐतिहासिक महत्व र शान्त वातावरणले विश्वभरका पर्यटकलाई यहाँ आकर्षित गराउने भएको हुँदा वर्षमा कम्तिमा पचास लाख पर्यटकले भ्रमण गर्नेगरि योजना तथा काम हुनुपर्ने पनि साहको भनाई छ ।

आजपा अध्यक्ष भने,‘धार्मिक र सांस्कृतिक दृष्टिकोणबाट महत्वपूर्ण लुम्बिनी नेपाल आउने धेरै पर्यटकको रोजाइमा पर्ने गरेको छ, तर हामीले यसलाई अझै राम्रो बनाउन सक्नुपर्छ, सरकार, सरोकारवाला निकाय, स्थानीय सरकार सबैको समन्वयमा लुम्बिनीको बृहत्तर विकासमा ध्यान दिनुपर्छ ।’

गौतम बुद्धको नाममा स्थापित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा नै भ्रष्टाचार भएको समाचारले विश्वभरि नेपालको प्रतिष्ठामा आँच आएको भन्दै साहले भ्रष्टाचारीहरुलाई पाता कस्नुपर्ने बताए । उनले देशको नाम र गौरवलाई विश्वमा चिनाएका भगवान गौतम बुद्धको नाममा विमास्थल खोलेर अरबौं भ्रष्टाचार भएपछि देशको ईज्जत के भएको होला ? भनेर अनुमान गर्न पनि सो क्षेत्रका जनतालाई अपिल गरे ।

सो क्रममा उनले अहिलेको चुनावमा सही र गलत पार्टी छुट्याउन पनि अपिल गरे ।

साहले भने,‘अहिले लडाईं जनताको पक्षमा हुनेहरु एकातिर, जनतालाई लेखेट्नेहरु अर्कोतिर देखिएको छ, सबै पूराना खराब भनिँदैछ, अनि सबै नयाँ राम्रो भनिँदैछ, जनताले आफ्नो सही निर्णय गर्ने बेला आएको छ ।’

उनले बालेन शाहलाई अनाडी (केही पनि नजान्ने) र रवि लामिछानेलाई ठगको संज्ञा दिए । नयाँ र विकल्प दिन्छु भनेर आएकाहरु नयाँ नै नभएको उनको आरोप छ । उनले भने,‘उनीहरु नयाँ नै होईनन्, बालेन शाह काठमाडौंको मेयर भईसकेका छन्, रवि लामिछाने त पटक पटक सरकारमा पुगेर सत्ताको स्वाद चाखिसकेको व्यक्ति हो, यिनीहरु नयाँको नाममा जनता झुक्याउन आएका नक्कली मान्छे हुन् ।’

उनले रवि र बालेनलाई हिन्दी फिल्मको ‘रङ नम्बर’ को पनि संज्ञा दिए । उनीहरु जनतालाई झुक्याउन र ढाँट्नको लागि राजनीतिमा आएको साहको आरोप छ । उनले भदौ २३ गतेको जेन–जी आन्दोलन सुशीला कार्कीहरुले अपहरण (हाईज्याक) गरेको भन्दै उनीहरुले देशप्रति गम्भीर नभएको आरोप लगाए । सुशीला सरकार नै रास्वपाले बनाएको उनको दाबी छ । निर्दलीय भनेको सरकारमा बसेकाहरुले धमाधम मन्त्रीबाट राजीनामा दिएर चुनावमा भाग लिनु भनेको जेनजी आन्दोलनको मर्म र भावनामाथि प्रहार गर्नु भएको साहको आरोप छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button