२६ बैशाख २०८१, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
अस्पतालमै शिशु छाडेर आमा फरार – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

अस्पतालमै शिशु छाडेर आमा फरार

सर्लाही,१२ पुष । सर्लाही सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा एक सुत्केरी आमा शिशु जन्माएर फरार भएकी छन् । अस्पतालमा सोमबार दिउँसो भर्ना हुन आएकी गर्भवती महिला छोरालाई जन्म दिएपछि फरार हुनुभएको हो ।

ती सुत्केरीले अस्पतालको शौचालयमा बच्चा जन्माएर फरार भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर नवलकिशोर झाले बताउनुभएको छ । शिशुलाई अहिले अस्पताल परिसरमै रहेको एकद्धार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा राखिएको अस्पतालले जनाएको छ । शिशुको अवस्था सामान्य रहेको मेसु झाले बताउनुभयो ।

अस्पतालमा भर्ना हुँदा ती महिलाले आफ्नो नाम सैयम कुमारी, उमेर २२ वर्ष र ठेगाना भारत बिहार राज्य जिल्ला सीतामढी सोनवर्षा उल्लेख गर्नुभएको छ । तर महिलाको सो नाम थर र ठेगाना झुटो हुन सक्ने आशङ्का गरिएको छ । जन्माउनासाथ आमा फरार भएकाले सो शिशु अवैध सम्बन्धपछि जन्मिएको हुनसक्ने आशङ्का गरिएको छ ।

सर्लाही प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक विजय यादवले घटनाको थप अनुसन्धान र फरार महिलाको खोजी भइरहेको बताउनुभएको छ । ती महिलासँगै अर्को एक जना महिला पनि अस्पतालमा सँगै आएको भनिए पनि प्रस्ट हुन सकेको छैन ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले शिशुलाई ओसीएमसीमा राखेर हेरचाह भइरहेको जानकारी दिनुभयो । अस्पतालका स्टाफ नर्स र ओसीएमसीका कर्मचारीले शिशुको हेरचाह गरिरहेका छन् । स्रोत ः गोरखापत्र अनलाइन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.