सर्लाही । लालबन्दी नगर वाङ्मय परिषद् लालबन्दी, सर्लाहीले लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कार -२०८१ बाट पत्रकार शङ्कर श्रेष्ठलाई सम्मान गर्ने भएको छ ।
पुरस्कार छनोट तथा सिफारिस समितिले श्रेष्ठलाई छनोट गरी सिफारिस गरेपछि वाङ्मय परिषद्ले उक्त निर्णय गरेको हो। लालबन्दी नगरभित्रका भाषासेवी तथा साहित्य सर्जकको सम्मान गर्ने उद्देश्यका साथ परिषद् अघि बढेको उल्लेख गर्दै तीन दशकदेखि सर्लाहीमा बसेर पत्रकारिताको माध्यमबाट नेपाली भाषाको सेवा गरेका कारण श्रेष्ठलाई सम्मानका लागि छनोट गरिएको परिषद्का अध्यक्ष अच्युत अधिकारीले बताए।
पत्रकार क्षितिज विश्वकर्मा र साहित्यकार देवराज पौडेल उक्त पुरस्कारबाट सम्मानित भइसकेका छन्।
लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार -२०८१ को पुरस्कार राशि रु. २५ हजार रहेको लालबन्दी नगर वाङ्मय परिषद्का अध्यक्षद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त पुरस्कार वि.सं.२०८१ मङ्सिर १५ गते शनिवार लालबन्दीमा प्रदान गरिने परिषद्का कोषाध्यक्ष विवश पौडेलले बताए।