२० पुष २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
कानुन संशोधनको लागि आएको प्रस्ताव फिर्ता लिन स्वास्थ्यकर्मीहरुको चेतावनी – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाज

कानुन संशोधनको लागि आएको प्रस्ताव फिर्ता लिन स्वास्थ्यकर्मीहरुको चेतावनी

सर्लाही । मधेश प्रदेशका स्वास्थ्यकर्मीहरुले मधेश प्रदेश सरकारको तर्फबाट कानुन संशोधनको लागि आएको प्रस्ताव फिर्ता लिन चेतावनी दिएका छन् ।स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, एकीकृत स्वास्थ्यकर्मी संगठन तथा हेल्थ असिस्टेन्ट एशोसिएशन नेपालले शुक्रबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

विज्ञप्तीमा राष्ट्रसेवक कर्मचारीका प्रदेश सचिव चन्द्रभुषण साह, एकीकृत स्वास्थ्यकर्मीका प्रदेश प्रतिनिधि मुकेश कुमार महतो र हेल्थ असिस्टेन्टका प्रदेश संयोजक धिरेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।उनीहरुले पाँच प्रतिशत स्वास्थ्यकर्मीको स्वार्थपुर्ती गर्न सरकारले नियोजित रुपमा ९५ प्रतिशत स्वास्थ्यकर्मीको मनोबल गिराउने खालको कानुन बनाउन लागेको आरोप लगाएका छन् ।

मधेश प्रदेश स्थानीय सेवा (गठन, सञ्चालन) ऐन २०८१ को पहिलो संशोधन अध्यादेशको ड्राफ्टको दफा ४ को उपदफा ६ थप गर्ने भनि ‘ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कर्मचारी समायोजन ऐन २०७५ बमोजिम स्थानीय तहमा समान पद र तहमा समायोजन भई यो ऐन जारी हुँदा बखत सम्म स्तरवृद्धि वा तहवृद्धि नपाएका स्वास्थ्य सेवाका कर्मचारीलाई समायोजन भएका मितिबाट ज्येष्ठता कायम हुनेगरी अख्तियारवालाले एक पटकका लागि एक तह स्तरवृद्धि गरिदिनेछ’ भन्ने वाक्यांशप्रति कर्मचारी संगठनहरुले आपती प्रकट गर्दै आएका छन् ।

कर्मचारीहरुले विरोध गरिरहेको विषयलाई वास्ता नै नगरी गत बिहीबार केही सञ्चारमाध्यममा उक्त अध्यादेश मार्फत जस्ताको त्यस्तै संशोधन हुन लागेको भन्ने समाचार सम्प्रेषण भएपछि पुनः कर्मचारीहरु आन्दोलनको चेतावनी दिएका हुन् ।

यस्तो हुँदा एसएलसी सरह १५ महिनाको तालिम लिएका अहेव चौथो तहमा प्रवेश गरी स्तरवृद्धि भई पाँचौ र अधिकृत छैठौसम्म जान्छन् भने ३ वर्षको कोर्ष अध्ययन गरी हेल्थअसिस्टेन्ट पाँचौ तहमा प्रवेश गरी स्तरवृद्धि भई अधिकृत छैठौ र सातौ तहसम्म जान्छन् ।

जुन कर्मचारीले समायोजनभन्दा अगाडी अधिकतम दुई तहसम्म स्तरवृद्धि सुविधा प्राप्त गरिसकेर समायोजनपछि पनि बिना थप शैक्षिक योग्यता एकतह वृद्धि हुनेगरी समायोजन हुनेगरी अध्यादेश मार्फत कानुन संशोधन गर्न लागिएको उनीहरुको भनाई हो ।
यो संशोधन जस्ताको त्यस्तै भए प्रदेशको स्वास्थ्य सेवा प्रणाली नै उथलपुथल हुने चेतावनी दिँदै कर्मचारीहरुले वरिष्ठ कर्मचारीलाई कनिष्ठ बनाउने र कर्मचारीको चेन अफ कमाण्ड ध्वस्त पार्ने काम नगर्न सरकारलाई सचेत गराएको हो ।

९५ प्रतिशत कर्मचारीको भावनालाई कुल्चेर योग्य स्वास्थ्यकर्मीको मनोबल गिराउने काम गरे सरकार विरुद्ध कडा आन्दोलनमा जाने चेतावनी उनीहरुको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button